
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले नागढुङ्गा सुरुङ तोकिएकै समयमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । आज निर्माणस्थलको अनुगमनपछि आयोजनाका कर्मचारी र निर्माण कम्पनीसँगको छलफलमा उहाँले अहिलेसम्मको निर्माण सन्तोषजनक रहेको उल्लेख गरे । सुरुङ निर्माणको गति र गुणस्तर दुवै राम्रो बनाउन निर्माण कम्पनीले मेहनत गरेको उल्लेख गरेका छन्।

सुरुङमा आउने कुनै पनि किसिमका समस्या समाधानका लागि आफू तयार रहेको उनले बताए । उनका अनुसार आर्थिक वा अरु कुनै पनि किसिमको समस्या आउँदा समाधानका लागि लागिनेछ । सुरुङ निर्माण नेपालका लागि पनि सिकाइ भएको मन्त्री यादवको भनाइ थियो । यहाँबाट सिकेको अनुभवबाट अरु ठाउँमा पनि प्रयोग गर्नुपर्ने उनले बताए ।
नागढुङ्गा सुरुङ आयोजनाका प्रमुख नरेशमान शाक्यले अहिले पनि स्थानीयवासीलाई मुआब्जाका लागि दिन रकम अपुग भइरहेको बताए। विगतदेखि नै मुद्दामा रहेका पाँच घरको टुङ्गो नलागेकाले निर्माणमा बाधा पुगेको बताए।
आयोजनाको हालसम्म भौतिक प्रगति २९ दशमलव एक प्रतिशत र मोबिलाइजेसन पेश्कीसमेत आर्थिक प्रगति ४४ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।
हालसम्म मुख्य सुरुङ निर्माण ३३ दशमलव दुई प्रतिशत र निष्कासन सुरुङ ५२ दशमलव नौ प्रतिशत सकिएको छ । मन्त्री यादवसँगै सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक शिवहरि सापकोटलगायत निर्माणस्थल पुगेका थिए । उहाँहरुले काठमाडौँ जिल्लातर्फ भइरहेको निर्माणको अवलोकन गरेका थिए।

