गोरखा । जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) का बारेमा अन्र्तक्रिया भएको छ । नेपाल सरकार र स्विच सरकारकाे दुई पक्षिय सम्झाैता, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे नेतृत्व र हेल्भेटास नेपालकाे प्राविधिक सहयाेगमा जिल्लामा सञ्चालित उक्त परियाेजनाले गरेका काम र रहेका चुनौतीका बारेमा जिल्लामा क्रियाशिल पत्रकार एवं सञ्चारकर्मीहरुलाई अभिमुखिकरण गराइएको हाे ।



कार्यक्रममा बैदेशिक राेजगार बाेर्डका गण्डकी प्रदेश कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले बैदेशिक रोगजारीको अबस्था, यसले नेपाली अर्थतन्त्र दिएको योगदान, बैदेशिक रोजगारका समस्या, चुनौती र अबसरहरुका बारेमा जानकारी गराएका थिए ।
गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख विजयभक्त उपाध्यायले कार्यक्रम कार्यान्वयनको अबस्था, नीतिगत व्यवस्था, नगरपालिकाले गरेका पहल कदमी र कामका बारेमा जानकारी गराएका थिए ।


यसैगरी जिल्ला परियाेजना कार्यक्रम संयोजक चन्द्र बहादुर देवकोटाले जिल्लामा परियोजनाले गरेका काम र चुनौतीका बारेमा सञ्चारकर्मीहरुलाई जानकारी गराएका थिए । बैदेशिक रोजगारीमा गएर बेपत्ता हुने, मृत्यु भएर शव ल्याउन समस्या हुने, आवश्यक प्रक्रिया पुरा नगरी जाँदा पक्राउ पर्ने जस्ता धेरै समस्या रहेको उनले बताए ।

अहिले सामी परियोजना मार्फत जिल्ला प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र स्थापना गरी विवरणहरु संकलन गर्ने, पासपोर्ट बनाउन आएकाहरुलाई परामर्श दिने, सुचना प्रवाह गर्ने, सिप तालिम लिएर मात्रै वैदेशिक राेजगारीमा जान अभिप्रेरित गर्ने, निशुल्क सिपमुलक तालिमका लागि सिफारिस गर्ने, समस्या परेकाहरुलाई उद्धार गर्न सहयोग समन्वय गर्ने लगायतका कामहरु भइरहेको उनले बताए । जिल्लाका ४ स्थानीय तहरु गोरखा नगरपालिका, पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपाकिला र शहिद लखन गाउँपालिकाकाे नेतृत्वमा उक्त परियाेजना सञ्चालन गरिएको छ ।

कार्यक्रम अन्र्तगत बैदेशिक रोजगारीका कारण समस्यामा परेका मानिसहरुलाई घरैमा पुगेर मनोपरामर्श सेवा दिने, व्यवसायीक सिपहरु प्रदान गरी आत्मनिर्भर बनाउन जोड दिने, रोजगारीको शिलशिलामा मृत्यु भएका मानिसहरुको शव नेपाल ल्याउने, सुरक्षित आप्रबासन सम्बन्धी विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने लगायतका कामहरु भइरहेको एकिकरण नेपालले जनाएको छ ।
कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बैदेशिक रोगजारलाई सुरक्षित र भरपर्दो बनाउन सबै पक्षले सहयोग समन्वय गर्नु बताए । नगरपालिकाले उक्त विषयलाई प्राथकिता दिएर सोही अनुसारका नीति र कार्यक्रमहरु निर्माण सञ्चालनमा लगेको उनले बताए । अभिमुखिकरण कार्यक्रमको औचित्यको बारेमा एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले सहभागीहरुलाई जानकारी गराएका थिए ।



यसैगरी जिल्लामा क्रियाशिल पत्रकार एवं सञ्चारकर्मीहरुले बैदेशिक रोजगार सम्बन्धी घटनाहरु बाहिर ल्याउन परियोजना सम्बद्ध व्यक्तिहरुलाई आग्रह गरेका थिए । त्यस्ता विषयले सञ्चार माध्यममा स्थान पाउँदा त्यसले धेरै व्यक्तिलाई सचेत गराउन सक्ने उनीहरुको भनाई छ ।
कार्यक्रमको समापन गर्दै पत्रकार महासंघका जिल्ला अध्यक्ष नरहरि सापकोटाले परियोजनासँग हातेमालो गरेर जनतालाई सुसुचित गराउन सञ्चारकर्मीहरु तयार रहेको बताएका थिए ।
