• शुक्रबार, असोज २ २०८३

च्यासलविरुद्ध पुलिसको शानदार जित


बुधबार, माघ २६ २०७८
780
Shares

विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत स्थगित भएको खेलमा च्यासल युथ क्लबविरुद्ध शानदार जित हासिल गरेको छ। ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोलले हराउँदै नवौं चरणको खेलमा जित निकालेको हो । यसअघि च्यासलका खेलाडीमा कोरोनाको पोजेटिभ संकेत देखिएपछि स्थगित भएको खेलमा नेपाल पुलिसले बाजी मारेको हो ।

तुलनात्मक हिसाबमा कमजोर देखिएको च्यासलविरुद्ध पुलिसले सुरुआतबाट नै दबाब दिएर खेलेको थियो । सोही क्रममा पुलिसका रविशंकर पासवानले ३७ औं मिनेटमा पुलिसका लागि खाता खोलेका थिए । त्यस अघि पनि पुलिसले केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न निकै असफल भएको थियो ।

पुलिसलाई सुरुआती अग्रता दिलाउने क्रममा रविशंकरले निरकुमार राईले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्रबाट जाली चुमाएका थिए । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन । ५३ औं मिनेटमा च्यासलले खेलमा फर्किने संकेत देखायो । मौसा अबगानाले  पेनाल्टीबाट गोल गर्दै च्यासललाई खेलमा फर्काउने संकेत देखाए ।

पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टी अवसरलाई च्यासलका विदेशी खेलाडी मौसाले सदुपयोग गर्दै खेल १–१ को बराबरीका अवस्थामा ल्याएका थिए ।

७० औं मिनेटमा रविशंकरले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई पुनः अग्रता दिलाए । बाँकी समयमा च्यासल खेलमा फर्किन सकेन र पुलिसले च्यासलमाथि कठिन जित निकाल्न सफल भयो । खेलमा पुलिसका दुई गोल गरेका रबिशंकर प्लेयर अफ दि म्याच चुनिएर नगद १० हजार प्राप्त गर्दा च्यासलका आशिष राईले इमर्जिङ प्लेयर चुनिए नगद १० हजार रुपैयाँ नै पाए । 

जितसँगै पुलिसले ९ खेलबाट सहिद स्मारक ए डिभिजन लिग तालिकामा १० अंक जोडेको छ । पुलिस लिगको दशौँ स्थानमा उक्लिएको छ भने च्यासलले ९ खेलबाट ५ अंक जोडेर १३ औं  स्थानमा रहेको छ  । लिगमा अब दशौैं चरणका खेल शुक्रबारबाट हुँदै छन् । यसअघि नवौं चरणका खेल सकिएपछि मोफसलका प्रतियोगिताका र नेपाली टोली अन्तर्राष्ट्रिय भ्रमणका लागि लिग स्थगित भएको थियो । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार