
काठमाडौं। सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिबारे संसदीय समितिले छानविन गर्ने भएको छ ।
संघीय संसद अन्तरगतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानविन गर्न सांसद दुर्गा पौडेल संयोजक र समितिका सदस्यहरु खेम लोहनी र लक्ष्मी परियार सदस्य रहेको ३ सदस्यीय उपसमिति गठन गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको बैकल्पिक व्यवस्था गरेर जनतालाई राहत दिने गरी सरकारलाई आवश्यक सुझाव दिन सो उपसमिति गठन गर्नु परेको समितिकी सभापति निरादेवी जैरुले जानकारी दिइन् ।
