
पोखरा । आज (बुधबार) देशभर बदली रही थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । बुधबार देशको गण्डकी प्रदेश ,सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बाकी प्रदेशहरूमा आंशिक बदली रहनेछ।
गण्डकी प्रदेश,सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाग्मती प्रदेश तथा प्रदेश नं १ का थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखी मध्यम हिमपातको सम्भावना छ । यता बिहीबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै शुक्रबार प्रदेश नं १, मधेस प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
