
मनाङ। न्यून चापीय प्रणाली प्रवेश गरेकाले हिमाली जिल्ला मनाङमा यसवर्ष भारी हिमपात भयो । हिमपातका कारण रोकिएको कोरोना विरुद्धको बुस्टर डोज अभियान बुधबारदेखि पुनः सञ्चालनमा आएको छ ।
माघ २० गतेदेखि मनाङ ङिस्याङ गाउँपालिकामा बुस्टर डोज अभियान सञ्चालन भए पनि हिमपातका कारण रोकिएको थियो । माथिल्लो मनाङमा खोप अभियानकै क्रममा भारी हिमपात भएपछि केही दिन रोकिएको खोप अभियान बुधबारबाट पुनः सञ्चालनमा आएको छ । खोप आजै माथिल्लो मनाङवासीलाई लगाउन सकिने स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए ।

‘बुस्टर डोज लगाउन छुटेका व्यक्तिका लागि उनीहरु जिल्लामा आएपछि लगाउने व्यवस्था गरिएको छ । ‘उहाँहरु सम्पर्कमा आउनुपर्ने हुन्छ, सूचना पनि जारी गरिएको छ,’ उनले भने । कोभिसिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर छ महिना पूरा भएका नागरिकका लागि कोरोना सङ्क्रमण विरुद्धको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन अतिरिक्त खोपको रुपमा ‘बुस्टर’ खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
उनका अनुसार अभियानकै क्रममा भारी हिमपात भएपछि रोकिएको खोप कार्यक्रम सुरु भएको छ । छ महिना अघि कोरोना विरुद्धको खोप लगाइसकेको र उक्त खोपको रोग प्रतिरोधात्मक क्षमता क्रमशः घट्दै जाने भएकाले सरकारले अतिरिक्त खोपको रुपमा ‘बुस्टर’ डोज अभियानलाई तीव्रता दिएको छ ।

