• शुक्रबार, असोज २ २०८३

विदेशमा रहेका आफ्ना नागरिककाे तथ्यांक संकलन गर्दै गोरखा नगरपालिका र शहिद लखन


सोमबार, माघ २४ २०७८
1.9K
Shares

गोरखा । गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकाले विदेशमा रहेका आफ्ना नागरिककाे लगत संकलन थालेका छन् । गोरखा र शहिद लखनले पालिका क्षेत्रमा बसाेबास रहेका तर हाल वैदेशिक रोजगारी, वैदेशिक अध्ययनमा रहेका नागरिककाे तथ्यांक संकलन सुरु गरेका हुन् ।

वैदेशिक रोजगारमा रहेका नागरिक र उनीहरुको परिवारको अवस्था लगायतकाे तथ्यांक तथा अवस्था पहिचानको लागि लगत सुरु गरिएकाे गोरखा नगरपालिकाका सामी परियोजना सम्पर्क व्यक्ति तथा सामाजिक बिकास अधिकृत बिजय भक्त उपाध्यायले जानकारी दिए ।

पालिकाले वैदेशिक रोजगार सम्बन्धी पार्श्वचित्र निर्माण गर्ने उदेश्यले तथ्यांक संकलन थालिएकाे उनले बताए । गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकाले वैदेशिक रोजागारीको विवरण संकलन गरी ‘आप्रवासन प्रोफाईल’ निर्माण गर्ने जनाएका छन् ।

संकलन गरेको तथ्याङक प्रोफाइलका रुपमा राखिने र आगामी नीति तथा कार्यक्रम बनाउदा त्यसैका आधारमा तयार गरिने उपाध्यायले बताए । प्रोफाईलले सुरक्षित आप्रवासन नीति र पुनः एकीकरणको लागि समर्थन सहित स्थानीय ‘प्रवास प्रशासन’ को लागि उचित योजना, नीति र रणनीतिको विकासमा सहयोग गर्ने छ ।

प्रोफाईल निर्माणको लागि गोरखा नगरपालिकाले पाँच लाख र शहिद लखन गाउँपालिकाले चार लाख रुपैया विनियोजन गरेका छन् । हाल प्रत्येक वडामा एक जना गणकको व्यवस्थापन गरी क्षेत्रगत तथ्याङ्क संकलन भैरहेको बताइएकाे छ ।

गोरखा नगरपालिकाले १४ र शहिद लखन गाउँपालिकाले आठ जना गणक छनौट गरी तथ्याङ्क संकलन गर्न थालेका हुन्। गणकहरुले ‘कोवो सफ्टवेयर’ मार्फत तथ्यांङ्क लिइरहेका छन् । एकिकरण नेपालको व्यवस्थापनमा गणकहरुलाई सामी हेल्भेटासले दुई दिने सफ्टवेयर सञ्चालनबारे प्राविधिक तालिम दिएर स्थलगत रुपमा तथ्याङ्क संकलनका लागि वडामा खटाइएको छ ।

स्थलगतरुपमा खटाइएका २२ गणकहरुले फाल्गुन ४ भित्र आफ्नो जिम्मेवारीमा परेको वडाको वैदेशिक रोजगारीमा गएको, अध्ययनका लागि गएको, वैदेशिक रोजगारीमा आश्रीत परिवार, वैदेशिक रोजगारीमा फर्केका, रोजगारीबाट फर्केर पुनस्थापित भइसकेकाको विवरण संकलन गर्नेछन् ।

प्रोफाईलमा जनसांख्यिकीय जानकारी, प्रमुख गन्तव्य देशहरू, प्रवासी र उनीहरूका परिवारको सीप र सूचनामा पहुँचको हालको परिदृश्य, रेमिट्यान्स प्राप्त गर्ने र वित्तीय साक्षरतामा यसको उपयोगिताको प्रवृत्ति र ज्ञान स्तर सहितको प्रवास, पुनरागमन प्रवासी कामदारको जानकारी, उनीहरूको अवस्था र पहलमाथि जोड दिने शहिद लखन गाउँपालिकाले जनाएकाे छ।

आप्रवासन पाश्र्वचित्रले राष्ट्रिय सन्दर्भसँग सम्बन्धित स्थानीय स्तरबाट श्रम प्रवासन ढाँचाको समग्र परिदृश्य प्रतिबिम्बित गर्ने सुरक्षित आप्रवासन परियोजना (सामी) गोरखाका परियोजना संयोजक चन्द्र देवकोटाले बताए । पाश्वचित्रमा वैदेशिक रोजगारमा धोखाधडी र सम्बन्धित मुद्दाहरू, सामाजिक लागत, चुनौती साथै सुझावलाई पनि समावेश गरिने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार