प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन्।
प्युठानको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप गएराति ३ बजे गौमुखी- ६ ओखरपाटामा दुर्घटनामा परेको हो।
जिप सडकबाट झण्डै तीनसय मिटर अग्लो भिरबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक बेनीप्रसाद गैरेले जानकारी दिए।

दुर्घटनामा ज्यान गुमाउने गौमुखी-६ लिवाङकी ४० वर्षीय बसन्त खड्का, उनकी पत्नी ३९ वर्षीया बसन्ती खड्का, उनीहरुकप् ११ वर्षीया छोरी यलिसा खड्का, सोही ठाउँकी ३० वर्षीया केशरी खड्का, करिब ५० वर्षीय बलबहादुर बुढा, ३२ वर्षीय खिमबहादुर खत्री, र ५० वर्षीय नन्दि खड्काको सनाखत भएको छ।
दुर्घटनामा ज्यान गुमाउने बलबहादुर बुढा जिप चालक हुन्। गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरीका अनुसार दुर्घटनामा बेहुली रीमाको एउटा हात नै चुँडिएको छ।
घाइतेमध्ये बेहुलीसहित तीन जनालाई थप उपचारको लागि बुटवल रेफर गरिएको छ। बेहुला दानबहादुर खड्का, २५ वर्षीय साबित्रा जिसी र २१ वर्षीय हरि बुढाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।
दुर्घटनामा ज्यान गुमाउने करिब २२ वर्षीया युवतीको अझै सनाखत हुन नसकेको बताइएकाे छ ।