
चितवन जिल्लाका तीन पालिकामा आज (बिहीबार) देखि सुकुमवासीको जग्गा नापिने भएको छ। राष्ट्रिय भूमि आयोगले जग्गा नापीको काम सुरु गर्न लागेको हो।
आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधबार प्रशिक्षण दिएको थियो। आयोगका जिल्ला अध्यक्ष बद्रि तिमिल्सिनाका अनुसार भरतपुरका ६ वडा, कालिका र माडीका ३/३ वडाबाट काम सुरु गर्न लागिएको हो। सुरुवाती गरेका वडा सकिएसँगै अन्य वडाको काम थालिने छ।


भरतपुरमा ३५ दिन, कालिका नगरपालिकामा २० दिन र माडी नगरपालिकामा १५ दिनमा काम सम्पन्न गरी सम्बन्धित पालिकामा लगत बुझाउने गरी योजना बनाइएको छ।
पालिकाले जिल्लास्थित राष्ट्रिय भूमि आयोगमा सो लगत पठाउने छ। तिमिल्सिनाका अनुसार नापजाँचका लागि २७ अमिन र ९ सर्वेक्षकलाई प्रशिक्षण दिइएको छ। रासस