
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशका अधिकांश भुभागमा बदली, हिमपात र असिना/चट्याङसहितको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यो अवधिमा बदलीसँगै असिनासहितको वर्षा र हिमपातको सम्भावना भएकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने सम्भावना छ ।
त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्द सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । आइतबारदेखि भने यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक सुधार हुने मौसमविद वरुण पौडेलले जानकारी दिए ।



माघ १९ गते बुधबार (आज)
दिउसो: प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।
राति: प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
माघ २० गते बिहीबार
दिउसो: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेस प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभाग तथा तराईका धेरै स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ।
राति: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही भूभागमा मेघगर्जन/चटयाङसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
माघ २१ गते शुक्रबार
दिउसो: देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिन्छ। देशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ। साथै गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
राति: देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिन्छ। प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

