
प्रतिनिधिसभाका सांसदले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहे अनुसार जनगणना नभएको उल्लेख गर्दै पुनर्गणना गर्नसमेत माग गरे ।



प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद पाण्डेले काठमाडौंको जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नहुनुको कारण स्पष्ट पार्न केन्द्रीय तथ्यांक विभागसँग माग गरे ।
उनले काठमाडौंमा सधैँ माइग्रेसन बढिरहने तर त्यस अनुपातमा जनसंख्या घट्ने काम हुनै नसक्ने हुँदाहुँदै पनि तथ्यांक विभागको प्रारम्भिक नतिजामा घटेर आउनुको कारण आफूले बुझ्न नसकेको बताए ।
‘काठमाडौंमा जहिले पनि माइग्रेसन बढी हुन्छ । किन, यो राजधानी हो । यो अस्थायी माइग्रेसन संघीयताले पनि रोकेको छैन । उता अरू जिल्ला बढने र काठमाडौं नबढने किन भयो ? यो चिजमा राम्रोसँग हेर्नुस्’ उनले भने ।


कांग्रेस सांसद राईले सही तरिकाले जनसंख्याको तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग गरिन् । उनले विदेशमा गएको नेपालीको जनगणना गर्ने कार्य योजना के छ ? भनी केन्द्रीय तथ्यांक विभागलाई प्रश्न गरिन् । सांसद राईले गणकलाई घरघरमा पुर्याएर तथ्यांक संकलन गर्ने काम नभएको अनुभूति सुनाउँदै आपत्ति जनाइन् ।

‘विदेशमा गएकाको गणना छुटेको अवस्था छ । छुटेको जनसंख्यालाई गणना गर्ने के कार्यक्रम छ, योजना छ ? त्यो पनि आउनु पर्यो । र, हाम्रो देशको जनसंख्या सही तरिकाले तथ्यांकसहित आउनु पर्यो । मलाई लाग्छ, फेरि पनि पुनर्गणना गर्यो भने सही तथ्यांक आउँछ,’ उनले भनिन् ।
यता, केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुन सक्ने बताए ।
महानिर्देशक श्रेष्ठले यो प्रारम्भिक नतिजा भएको र पूर्ण भएर आउँदा सबै तथ्य आउनेतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराए । उनले जनगणनाको प्रारम्भिक नजिताको कामलाई विभागले इमान्दारिताका साथ समयमै सम्पन्न गराएको पनि बताए।

