

गोरखा । गोरखा नगरपालिका क्षेत्रका १९ जनालाई न्यानाे कपडा सहयाेग गरिएकाे छ । गाेरखा नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा थापा मगर र राजकुमार थापा मगरले ब्यक्तिगत रुपमा वडा नम्बर १० र १४ का गरी १९ जना विपन्न तथा असहायलाई न्यानाे कपडा सहयाेग गरेका हुन् ।
एकल महिला, विपन्न, असहाय तथा अनाथ ब्यक्तिहरुलाई चिसाेबाट जाेगाउन भन्दै थापा दम्पतीले हरेकलाई एक थान सिरक, एक थान डसना, २ थान सिरानी लगायतका सामाग्री सहयाेग गरेका हुन ।



साे सामाग्री एक कार्यक्रमका वीच गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उनिहरुलाई हस्तान्तरण गरेका छन् । जसमा गोरखा नगरपालिका १० काे टक्सारका ४ जना, बिरेनचाेकका १० जना, अमलापानीका १ जना र वडा नम्बर १४ का ४ जनालाई साे सामाग्री प्रदान गरिएकाे बताइएकाे छ ।



‘ब्यक्तिगत रुपमा नेपाली काँग्रेससंग बिचार राखेपनि राजनीतिक स्वार्थबाट टाढा रहेर साच्चिकै आर्थिक समस्यामा रहेकाहरुकाे छनाेट गरेर न्यानाे कपडा दिएका छाै’ कार्यपालिका सदस्य सावित्रा थापाले भनिन ‘कम्तिमा चिसाे कै कारण काेही कसैले पिडा भाेग्न नपराेस भन्ने साेच हाे ।’
उनिहरुले एक परिवारलाई करिब ५ हजार बराबरकाे सामाग्री सहयाेग गरिएकाे बताएका छन् ।
