• शनिबार, साउन ९ २०८३

आठ कराेड लगानीमा बन्याे गोरखा प्रहरीकाे नयाँ भवन, आइजिपी थापाले गरे उद्घाटन


आइतबार, माघ १६ २०७८
1.5K
Shares

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाकाे नयाँ कार्यालय भवन बनेकाे छ । २०७२ सालकाे भूकम्पले ध्वस्त भएकाे भवनकाे पुननिर्माण सम्पन्न भएकाे हाे ।

नेपाल सरकारकाे ८ कराेड १ लाख ३७ हजार १ सय ९५ रुपैया लगानीमा निर्माण भएकाे जिल्ला प्रहरी कार्यालयकाे भवन आज आइतबार एक कार्यक्रमका बिच प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गरेका छन् । भवन पुननिर्माणका लागि २०७५ पुस ४ गते रोयल कन्ट्रक्सन धनगढीसंग सम्झौता भएकाे थियाे ।

कार्यालयकाे आफ्नै साढे १२ रोपनी जग्गामा आरसिसि फ्रेम, स्टक्चर अवधारणामा ३ तले कार्यालय भवन, महिला पुरुष र बिशेष प्रकृतिका थुनुवा कक्ष सहितको ४० जना क्षमता रहेको २ तले हिरासत भवन, १ तले कार्यालय प्रमुख निवास, १०८ जना प्रहरी कर्मचारीहरु क्षमता भएको ३ तले ब्यारेक भवन, ३ तले सिनियर प्रहरी अधिकृत आवास र २ तले मेस भवनको निर्माण सम्पन्न भएको डिएसपी प्रकाश दाहालले बताए ।

नवनिर्मित भवनमा मिटिङ्ग हल, प्रहरी कन्ट्रोल रुम र सञ्चार ब्यारेकको व्यवस्थापन गरिएको, हिरासत भवनको भुईतल्लामा छुट्टा-छुट्टै महिला तथा पुरुष हिरासत सहित सुविधा सम्पन्न ४ वटा हिरासत कक्षको समेत निर्माण भएको दाहालकाे भनाई छ ।

साथै सेवाग्राहीहरुको लागि नागरिक मैत्री तथा मानवअधिकार मैत्री हिसाबले विभिन्न शाखाहरु समेत स्थापना गरिएको र प्रहरी कर्मचारीहरुको लागि सुविधा सम्पन्न हुने किसिमका ब्यारेक मेस लगायत संरचनाहरु निर्माण भएको उनले बताए ।

त्यस्तै कार्यालय परिसरमै सिनियर अधिकृत आवास समेत निर्माण भएका छन् । आवास निर्माणका लागि १ करोड २४ लाख ५६ हजार २ सय ६७ रुपैया ९१ पैसामा भूमिस्थान निर्माण सेवा प्रा लि चापागाउँ ललितपुरसंग २०७७ आषाढ २ गते ठेक्का सम्झौता भएकाे थियाे ।

उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका ईन्जिनियर प्रहरी नायव उपरीक्षक केविन जंग थापाले भवन निर्माण सम्बन्धी प्राविधिक प्रतिवेदन सार्वजानिक गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रहरी प्रमुख आइजिपी थापा क्षेत्रीले प्रतिकुलताको बिचमा अनुकुलता ल्याउने मुख्य दायित्व प्रहरीको भएकाले आम नागरिकलाई पारदर्शी र प्रभावकारी प्रहरी सेवा प्रदान गर्न गोरखा प्रहरीलाई निर्देशन दिएका छन्।

आगामी दिनमा प्रविधी मैत्री एवं सुविधा सम्पन्न भवनहरु बनाउँदै लैजाने प्रहरी संगठनको केन्द्रीय नीतिलाई पूर्ण कार्यान्वयन गर्दै लैजाने र तल्लो तहका प्रहरी कर्मचारीहरुको वृत्ति विकास र सुविधालाई बिशेष ख्याल गरेर लैजाने समेत उनले प्रतिबद्धता ब्यक्त गरे।

ऐतिहासिक जिल्ला गोरखामा कार्यरत रहेका प्रहरी कर्मचारीहरुबाट गुणस्तरीय प्रहरी सेवा दिंदै प्रहरी पेशालाई मर्यादित र स्वाभिमानको पेशाको रुपमा अंगिकार गर्नुपर्ने र नागरिकहरुबाट पनि प्रहरी कार्यमा सहयोग र समन्वय गर्न आवश्यक भएको उनले तर्क गरे ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले सांगठनिक जिम्मेवारी पूरा गर्दै संघ र प्रदेश सरकारको आर्थिक सहयोगमा आवश्यकताअनुसार भौतिक पूर्वाधार निर्माण कार्यलाई प्रहरीले निरन्तरता दिँदै आएका बताए ।

त्यस्तै कार्यक्रमलाई सम्बाेधन गर्दै गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्तले विगत देखि नै गोरखा नगरपालिकाले जिल्ला प्रहरी कार्यालयसंग निरन्तर समन्वय गर्दै आई रहेको साथै शान्ती सुरक्षालाई ध्यान दिदै सामुदायिक सेवा केन्द्रसंग मिलेर नगर क्षेत्रका बिभिन्न स्थानमा सिसिटिभी राखेर प्रहरीलाई हस्तान्तरण गरिएकाे बताए ।

नगरप्रमुख पन्तले अपराध न्यूनिकरण र शान्ति सुरक्षा कायम राख्न प्रहरी सँग स्थानीय सरकारको सहकार्य राम्रो रहेको र यसलाई अझै प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जाेड दिए ।

यसैगरी जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले नयाँ भबन बनेसँगै सेवा प्रबाह गर्न सहज हुने बताए । कार्यक्रममा गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकाेटा लगायतले मन्तब्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार