
गोरखा । नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री भाेली गोरखा आउने भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाकाे नवनिर्मित कार्यालय भवन उद्घाटनका लागि प्रहरी महानिरीक्षक (आइजिपी) थापा भाेली गोरखा आउन लागेका हुन ।


सदरमुकाम स्थित जिल्ला प्रहरी कार्यालय परिसरमा भुकम्पले क्षति पुर्याएकाे पुरानाे भवन पुनर्निमाण सकिएसंगै साे काे उद्घाटन गर्न लागिएकाे गोरखाका एसपी शेखर खनालले जानकारी दिए ।
भवन निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बजेट विनियोजन गरेकाे थियाे । २०७५ पुस ४ गते सम्झौता भई निर्माण सुरु भएको भवन ८ करोड १ लाख रुपैयाँमा लगानीमा पुनर्निमाण गरिएकाे बताइएकाे छ ।


सम्झौता भएअनुसार एकवर्षभित्र काम सक्ने गरी रोयल कन्स्ट्रक्सनले भवन निर्माणको जिम्मा लिएको थियो । तर काेराेना भाइरसकाे जाेखिम र लकडाउनका कारण निर्माण सम्पन्न हुन केहि समय बढी लागेकाे कम्पनीले जनाएकाे छ ।


नयाँ भवनमा कार्यालय, हिरासत, ब्यारेक, कार्यालय संरचना निर्माण भएको एसपी खनालले बताए । प्रहरी निवास, व्यारेक, खाना खानेठाउँ(मेस) र प्रशासनिक कार्यालयसहित पाँच वटा भवन निर्माण भएको उनले बताए । उद्घाटन कार्यक्रममा स्वास्थ्य सुरक्षाकाे मापदण्डकाे पूर्ण पालना गरिने खनालकाे भनाई छ ।
गोरखा जिल्लामा ६ सय ९७ जना प्रहरी कर्मचारीको दरबन्दी रहेपनि हाल ५ सय २५ जना मात्रै कार्यरत छन् ।


