• शुक्रबार, असोज २ २०८३

मुग्लिङ पोखरा सडक विस्तार : तनहुँ खण्डमा धमाधम रुख कटान


शुक्रबार, माघ १४ २०७८
2K
Shares

मुग्लिङ पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा धमाधम रुख कटान भइरहेको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडकका दायाँबायाँ रहेका रुख कटानलाई तीव्र पारिएको हो ।  मुग्लिङ पोखरा सडक चार लेन बनाउने योजना अन्तर्गत सडक क्षेत्रभित्र पर्ने रुख हटाउन थालिएको मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

“पूर्वी खण्ड अन्तर्गत जामुनेदेखि आँबुखैरेनीसम्म करिब ५० प्रतिशत रुख काटिसकिएको छ,” उनले भने, “रुख कटान सकिएलगत्तै बाँकी कामलाई पनि अगाडी बढाउँछौ ।” उनका अनुसार आयोजनाले बाटो चौडा गर्ने कामलाई पनि अगाडी बढाइरहेको छ । 

जामुनेदेखि पोखरासम्मको खण्डमा तीन हजार एक ६३ रुख कटान गर्नुपर्नेमा हालसम्म एक हजार आठ सय रुख कटान गरिएको छ । पश्चिम खण्डको ठेक्का सम्झौता केही पछि भएकाले यस खण्डमा काम सुरु गर्न केही ढिलाइ भएको थियो । रुख कटानपछि बिजुलीका पोल स्थानान्तरण र घर टहरा हटाउन सुरु गरिने बताइएको छ ।

सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० रुख हटाउनुपर्ने हुन्छ । सडक आयोजनाले रुख काटेर वन कार्यालयलाई बुझाउने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।सो सडक विस्तार योजनालाई दुई खण्डमा विभाजन गरेर अगाडी बढाइएको छ । जामुनेदेखि आँबुखैरेनीसम्म  र जामुनेदेखि पोखरासम्म खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार