
गोरखा । गोरखा नगरपालिका वडा नम्बर ४ भरका अपाङ्गता भएका ब्यक्तिलाई न्यानाे कपडा वितरण गरिएकाे छ । वडा कार्यालयबाट विनियाेजित बजेटबाट वडा क्षेत्रमा रहेका ८ जना अपाङ्गता भएका ब्यक्तिलाई साेमबार घर घरै पुगेर मेयर राजनराज पन्त र वडाध्यक्ष खाेप बहादुर अधिकारीले न्यानाे कपडा वितरण गरेका हुन् ।


अपाङ्गता भएकामध्ये क वर्गका ब्यक्तिलाई पहिलाे प्राथमिकतामा राखेर जाडाेबाट बच्न न्यानाे कपडासहित हरलिक्स वितरण गरिएकाे वडा कार्यालयले जनाएकाे छ । जसमा हरेकलाई फाइवर सिरक, डसना, तन्ना, तकिया, सुइटर सेट, काने टाेपी, हरलिक्स लगायतका सामाग्री रहेका छन् । साे सामाग्री सहित मेयर, वडाध्यक्ष, वडासदस्यहरुसहितकाे टाेली उनिहरुकाे घरघरै पुगेका थिए ।


‘चिसाे बढेकाे बढ्यै छ, याे चरणमा क वर्गकाे कार्ड भएकालाई प्राथमिकता दिएर केहि न्यानाे सामाग्री वितरण गरेका छाै’ वडाध्यक्ष अधिकारीले भने ‘यसले उहाँहरुकाे सुरक्षामा केहि सपाेर्ट गर्छ भन्ने विश्वास हाे ।’ उनका अनुसार क वर्गका कार्ड भएका वडाभरी ८ जना मात्रै रहेकाे समेत बताए ।

फिनामकाे डेरागाउँमा आयाेजित हस्तान्तरण कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर पन्तले अरु भन्दा अपाङ्गता भएका ब्यक्तिकाे अवस्था संवेदनशिल हुने भएकाले पहिलाे प्राथमिकता उनिहरुलाई दिइएकाे बताए ।

‘हाम्राे समाजमा अपाङ्गता भएका ब्यक्तिलाई हेर्ने नजरमा अझै फरक आउन सकेकाे छैन, अब हाम्राे साेच र ब्यवहार फेरिन जरुरी छ’ मेयर पन्तले भने ‘हरेक अवस्थामा राज्यले उहाँहरुकाे संरक्षण गर्न जरुरी छ ।’
अपाङ्गता भएका ब्यक्तिले समेत राेग वा समस्या लुकाएर बस्न नहुने बताउदै उनले राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित नहुन आग्रह गरे ।

