

गोरखा । सिरानचाेक गाउँपालिकाले नवाै गाउँसभा सम्पन्न गरेकाे छ । आइतबार गाउँपालिकाकाे कार्यालयमा सभा भएकाे हाे ।
काेराेना भाइरसकाे जाेखिमका बाबजुद स्वास्थ्य सुरक्षा तथा मापदण्डकाे पूर्ण पालना गर्दै नवाै गाउँसभा एवं हिउँदे अधिवेशन सम्पन्न गरिएकाे गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।
गाउँसभाकै अवसरमा सिरानचाेकले पालिकाभित्रका बिभिन्न क्षेत्रका उत्कृष्ट उद्यमीलाई सम्मान गरेकाे छ ।

जसमा गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रम तथा याेजनाहरुलाई चुस्त दुरुस्त र प्रभावकारी रुपमा सम्पन्न गर्ने ८ वटै वडाका १/१ वटा उत्कृष्ट उपभाेक्ता समितीलाई सम्मान गरिएकाे अध्यक्ष गुरुङले जानकारी दिए ।

त्यस्तै सभामा पालिकाभरबाट २ जना उत्कृष्ट कृषि उद्यमीलाई सम्मान गरिएकाे छ । जसमा सिरानचाेक गाउँपालिका वडा नम्बर ४ का काजीबाबु घिमिरे र वडा नम्बर ६ का साधुराम नेपाली रहेका छन् ।

यसैगरी उत्कृष्ट पशु पालन गर्ने वडा नम्बर २ का लक्ष्मण गुरुङ, वडा नम्बर ६ का प्रेम वस्तीलाई समेत पालिकाले सम्मान गरेकाे जनाएकाे छ ।
लघु उद्यमतर्फ यसअघि पालिकाबाट तालिम लिएर मौरी पालन ब्यवसाय सुरु गरेका प्रेम गुरुङ र विपिन तामाङपनि सम्मानित भएका छन् भने सामुहिक लघु उद्यमीका रुपमा गुमानसिं मग्रातीलाई पालिकाले सम्मान गरेकाे छ । बिदेशबाट फर्केर मग्रातीले गाउँमै १८ जना किसानको समुह बनाएर कृषि पेशा गरिरहेका छन् ।


आइतबार सम्पन्न गाउँसभाले पालिकाभर रहेका बालविकास सहजकर्ताकाे तलब बढाउने प्रस्ताव पारित गरेकाे छ । यसअघि १२ हजार पाउँदै आएका उनिहरुकाे तलबमा ३ हजारले बृद्धि गर्दै १५ हजार पुर्याइएकाे पालिका अध्यक्ष गुरुङले बताए । जसमा नेपाल सरकारले ८ हजार मात्रै निकासा गर्ने गरेकाे छ ।
यसैगरी सभाले पालिकाकाे जलस्रोत ऐन, वातावरण ऐन, पूर्वाधार विकास ऐन, नीजि तथा सार्वजानिक साझेदारी ऐन, सुशासन नीति पारित गरेकाे उपाध्यक्ष रिता देवकाेटाले जानकारी दिइन् ।

