

गोरखा । गोरखा नगरपालिका २ मा वडाभरका एकल महिलालाई सुधारिएकाे चुलाे वितरण गरिएकाे छ । गोरखा नगरपालिकाकाे आर्थिक सहयाेगमा वडाभरका एक सय जना एकल महिलालाई सुधारिएकाे चुलाे निशुल्क वितरण गरिएकाे हाे ।

वडा नम्बर २ भित्र रहेका ६० बर्ष माथीका एकल र विधवा महिलाकाे तथ्यांक संकलन गरेर सबैलाई चुलाे प्रदान गरिएकाे वडाध्यक्ष रहमतुल्ला मियाँले बताए । चुलाे बुधबार वडा कार्यालयमा एक कार्यक्रमकावीच नगरप्रमुख राजनराज पन्त र वडाध्यक्ष मियाँले वितरण गरेका हुन् ।

करिब ४ हजार रुपैया पर्ने चुलाे वातावरणमैत्रीका साथै कम दाउरामा समेत छिटाे खाना पाक्ने भएकाले प्रभावकारी हुने विश्वास लिइएकाे छ । कार्यक्रमलाई सम्बाेधन गर्दै नगरप्रमुख पन्तले सुधारिएकाे चुलाेले वायु प्रदुषण कम गर्न मद्धत गर्ने बताए ।


अन्य परम्परागत चुलाेभन्दा ८० प्रतिशतसम्म धुवा कम उत्पादन गर्ने साथै खाना पकाउने अवधी ५० प्रतिशत छोट्टिने नगरपालिकाका वातावरण विज्ञ ध्रवराज घिमिरेले बताए । कार्यक्रममा उनले चुलाेकाे प्रयाेग र उपयाेगिताका बारे समेत सहभागीहरुलाई जानकारी गराएका थिए ।
वडाध्यक्ष मियाँकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडासदस्य तिलक बहादुर बाँनिया लगायतले बाेलेका थिए । नगरपालिकाले अघिल्लाे बर्ष समेत साे वडाका ७५ जनालाई सुधारिएकाे चुलाे वितरण गरेकाे थियाे ।

