• शनिबार, असोज ३ २०८३

सुन्तला बेचेर एक वर्षमा ५० लाख भन्दा बढी आम्दानी


बुधबार, माघ ५ २०७८
1.2K
Shares

म्याग्दी । को अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले  सुन्तला बिक्रीबाट यसवर्ष रु ५० लाखभन्दा बढी रकम भित्र्याएका छन् ।  व्यावसायिक सुन्तला खेती गर्दै आएका दोसल्लेका किसानले उत्पादन गरेका सुन्तला बिक्रीबाट यस वर्ष रु ५० लाखभन्दा बढी रकम भित्र्याएका हुन् ।

पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो सरदर रु ८० का दरले सुन्तला खरिद गरेका हुन् । दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले ६२ हजार ५०० किलो सुन्तला निकासी हुँदा रु ५० लाख गाउँमा भित्रिएको जानकारी दिए ।

गतवर्ष रु २५ लाख बराबरको सुन्तला बिक्री भएको थियो , उनले भने, नयाँ बिरुवा थपिएका, रोग कीराको समस्या कम र अनुकूल मौसमका कारण उत्पादन दोब्बरले बढ्यो । विगतका वर्ष मङ्सिर महिनामै सुन्तला बिक्री गरिसकेका हुन्थे। यसपाली बढी मूल्य पार्नका लागि यहाँका किसानले पुसको अन्तिम सातादेखि सुन्तला टिपेर बजार पठाउन थालेका छन् । एकजना किसानले रु तीस हजारदेखि रु दुई लाख तीस हजारसम्मको सुन्तला बिक्री गरेका समूहले जनाएको छ ।

व्यापारीसँग समन्वय गरेर सुन्तला बजार पठाउन समूहले समन्वय गरेको थियो । ५७ घरधुरीको बसोबास रहेको दोसल्ले गाउँभरी सुन्तलाखेती भएको छ । पन्ध्र हजार बोटमध्ये करिब आठ हजार बोटबाट उत्पादन हुन थालेको छ । परम्परागत कोदो, मकै र गहुँ खेतीको विकल्पमा सुन्तला खेती गरेको किसान खगप्रसाद पाइजाले बताए । वर्षमा तीन मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट रु पचास हजार भन्दा बढी आम्दानी भएको उनले बताए ।  

सडक यातायातको सुविधा भएपछि बाझिएका पाखो बारीमा झाडी फाँडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाएका छन् । दश वर्षअघि स्थानीयवासी मिलन गर्बुर्जाको अगुवाइमा दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान सुरु भएको थियो ।

भीरालो पाखोमा अवस्थित दोसल्लेको भूगोल सुन्तला खेतीका लागि अनुकूल रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले बताए । दोसल्लेमा सुन्तलाखेती विस्तारका लागि नयाँ बिरुवा वितरण, किसानलाई बगैँचा र कीरा व्यवस्थापनसम्बन्धी स्थलगत तालिममा सहयोग गरिएको उनले बताए ।

बेमौसममा सुन्तला बिक्री गर्नका लागि दोसल्लेमा तत्कालीन कृषि विकास कार्यालयको सहयोगमा सुन्तला भण्डार गृहको भवनसमेत निर्माण भएको थियो । दोसल्लेका बासिन्दासमेत रहेकी अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले सिँचाइ सुविधा र थप जमिनमा सुन्तलाखेती विस्तारमा जोड दिएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार