
सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–६ मा आयोजित महोत्सवमा पुगेका सर्वसाधारणले आगजनी गरेका छन् । बर्जुमा आयोजित महोत्सवमा कलाकार नआएपछि आक्रोशित भिडले आगजनी गरेको हो । बर्जु महोत्सव आयोजक समितिले भारतीय कलाकार खेसरीलाल यादव आउने भन्दै सर्वसाधारणलाई टिकट बिक्री गरेको थियो । तर खेसरीलाललाई स्थानीय प्रशासनले रोकेपछि आक्रोशित बनेको भिडले स्टेज तोडफोड र आगजनी गरेको हो ।


कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि ३०० र ५०० का दरले टिकट काटेर बसिरहेका थिए । तर, उनको कार्यक्रम रद्द गर्नुपरेपछी स्थानीयले भारतीय नम्बर प्लेटका ४ वटा स्कोरपियो र मोटरसाईकलमा आगजनी गर्नुका साथै स्टेज र कुर्सीहरु समेत तोडफोड गरेका छन् । स्थानीयको तोडफोडबाट ठुलो जनधनको क्षति भएको बताइएको छ ।
आक्रोशित भिडले महोत्सवस्थलमा पुगेका केही सवारीसाधनमा पनि आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भिड नियन्त्रण गर्ने क्रममा प्रहरीले बल पनि प्रयोग गरेको छ ।
