
लामो दूरीका सार्वजनिक यातायातका साधनले आजदेखि बीचबाटोबाट यात्रु थप गर्न नपाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै आजदेखि लामो दूरीका सवारी साधनले बीच बाटोबाट यात्रु थप गर्न नपाउने जनाएको छ।
आजबाट सार्वजनिक यातायातका सवारीसाधनले सिट संख्याबराबर मात्रै यात्रु राख्न पाउनेछन्। प्रशासनले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीचबाटोमा थप यात्रु चढाउन रोक लगाएको हो।

अब सुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म मात्रै यातायात सञ्चालन गर्नुपर्ने र यात्रुहरूको विवरण जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई उपलब्ध गराउनुपर्ने प्रशासनले जनाएको छ।
अब दुई सय ५० किलोमिटरभन्दा लामो दूरीमा सञ्चालन हुने सबारी साधनले बीच बाटोबाट थप यात्रु चढाउन पाउने छैनन्। सबै यात्रुलाई मास्क अनिवार्य गर्ने गरिएको छ । कुनै यात्रुले मास्क नलगाई यात्रा गर्न आएको खण्डमा सवारीसाधनमा चढ्न नदिने व्यवस्थासमेत सरकारले गरेको छ।
