
गोरखा । काेराेना भाइरसकाे संक्रमण बढ्न थालेसंगै गोरखाका धार्मिक स्थलहरुमा भक्तजनलाई प्रवेशमा राेक लगाइएकाे छ । गोरखाको प्रमुख धार्मिक स्थलमा पर्ने मनकामना मन्दिर र गोरखकाली मन्दिरमा भक्तजनलाई प्रवेशमा लगाइएकाे हाे ।

मनकामना क्षेत्र विकास समितिको मंगलबार बसेको बैठकले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै माघ ६ गतेबाट भक्तजनलाई प्रवेश गर्न नदिने निर्णय गरेको हो ।
यो अवधिमा मन्दिरकाे नियमित पूजा बाहेक लाखवत्ती वाल्ने, बली पूजा गर्ने लगायतका धार्मिक कार्यहरु समेत नहुने कार्यकारी निर्देशक लेविन्द्र गुरुङले बताए ।


यस्तै यता गोरखा दरबारमा रहेकाे गोरखकाली मन्दिरमा समेत भक्तजनहरुलाइ प्रवेशमा रोक लगाइएकाे छ । मन्दिरमा हुने नित्यपूजा बाहेक भक्तजनबाट हुने हुने सबै प्रकारका धार्मिक कार्य र मन्दिर परिसर प्रवेशमा राेक लगाइएकाे गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरि भुषालले बताए ।

