
अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि २६ जनाको ज्यान गएको छ। मृत्यु हुनेमध्ये पाँच महिला र चार जना बालबालिकासमेत रहेका अफगानिस्तानी मिडियाले जनाएका छन्।
अफगानिस्तानको पश्चिमी प्रान्त बडघिसलाई केन्द्रबिन्दु बनाएर सोमबार गएको ५.५ रेक्टर स्केलको भूकम्पमा परी ७०० भन्दा बढी घर भत्किएका छन्। दर्जनौं व्यक्ति घाइते भएका छन्। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार अफगानिस्तान-ताजिकिस्तान सीमावर्ती क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु थियो। मापन केन्द्रका अनुसार २ घन्टाको अन्तरमा दुई पटक भूकम्प गएको थियो। दोस्रो पटक ४.९ रेक्टर स्केलको भूकम्प गएको थियो।
बडघिस प्रान्तका संस्कृति एवं सूचना विभाग प्रमुख बास मोहम्मद सरवरीका अनुसार भुकम्पका कारण सयौं घर ढलेका छन्। प्रान्तको दक्षिणी भागमा रहेको क्वादिस जिल्लामा भूकम्पले ठूलो क्षति पुर्याएको छ।
