
काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ । अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेका छन् ।यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदै छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको जानकारी दिए । उनले कस्तो खालको प्राविधिक गडबडी हो भन्ने कुरा बुझ्न आफ्नो इन्जिनियरको टोलीलाई पनि पठाएको बताए ।

सो जहाजमा रहेका एकजना यात्रुले भने आकाशमै हवाई जहाजको ढोका खुलेपछि आफूहरुलाई पुनः विमानस्थलमै फर्काइएको बताए । उनले काठमाडौंबाट उडेको करिब पाँच मिनेट मात्रै भएको थियो, जहाजले उचाइ लिंदै थियो, त्यही बेला यात्रु चढ्ने ढोका खुलेपछि प्राविधिक समस्या देखिएको भन्दै पुनः फर्काइएको बताए। यद्यपि आकाशमै ढोका खुलेको भन्ने ती यात्रुको दाबी पुष्टि हुन बाँकी छ ।
सो जहाजको आज बिहान करिब साढे आठ बजे पोखरा उड्ने नियमित तालिका थियो । तर ढिले भएर करिब १० बजेपछि मात्रै काठमाडौंबाट पोखराका लागि उडेको थियो । सो जहाजमा प्राविधिक समस्या देखिएपछि गुणकै अर्को जहाजमा ती यात्रुहरुलाई पोखरा पठाउने तयारी छ ।
