गोरखा । अर्गानिक तरकारी फलाउने सिप सिकाउन गोरखा नगरपालिका वडा नम्बर १४ मा १६ हप्ते तालिम सकिएकाे छ । गोप्पेश्वर आईपिएम कृषक पाठशालामार्फत समुहमा आवद्ध २५ जना स्थानीय महिलाहरुले उक्त तालिम लिएका हुन् ।
तालिम अन्र्तगत महिलाहरुलाई १६ हप्तासम्म तरकारीको बिउ कसरी राख्ने, हुर्काउने, जोगाउने, विषादीरहित कसरी बनाउने, रोग किराबाट जोगाउन के गर्ने ? बिषादी प्रयोग गर्नुपर्दा कसरी गर्ने भन्ने बारेमा सिकाइएको सहजकर्ता कल्पना धितालले बताइन् ।
तालिमकाे शनिबार एक कार्यक्रमका वीच समापन गरिएकाे छ । समुहकी अध्यक्ष संगीता भण्डारीको अध्यक्षता र गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा वडा अध्यक्ष रामबहादुर खड्का, कृषि अधिकृत पुष्पराज खनाललगायतले धारणा राखेका थिए ।
सहभागी किसानले कृषि उत्पादन कसरी बढाउने, विषादी प्रयोगमा निरुत्साहित गर्ने खालका गित, नाटक समेत प्रस्तुत गरेका थिए । बाली संरक्षण प्रयोगशाला बिरौटा कास्कीको आर्थिक सहयोगमा तालिम संचालन भएको हो ।
तालिम लिएका महिलाहरुले आगामी दिनमा आधुनिक तरिकाबाट अर्गानिक तरकारी फलाएर बजारसम्म पुर्याउने लक्ष्यम राखेका छन् ।