
धादिङमा सडक खन्ने क्रममा पहिरो खस्दा एक्स्काभेटरसहित ३ जना पुरिएका छन्।धादिङको रुबी भ्यालीमा बिहीबार बिहान बाटो खन्ने क्रममा सुक्खा पहिरो गएको हो।
रुबी भ्याली गाउँपालिका वडा नम्बर १–पुरुमा सडक खन्ने क्रममा पहिरो खस्दा एक्स्काभेटरसहित चालक र सहयोगी तथा १ जना स्थानीय व्यक्ति बेपत्ता भएको स्थानीयले बताएका छन्।
धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले प्रहरीको टोली भर्खर (बिहान ११:४५ बजे) घटनास्थल पुगेको जानकारी दिए।

विस्तृत जानकारी आउन बाँकी छ। ‘टोली भर्खर पुगेको छ, तीन जना पुरिएको खबर आएको छ, अहिले पनि त्यहाँ सुक्खा पहिरो झरिरहेकाले खोजी सुरु हुन सकेको छैन,’ प्रहरी नायब उपरीक्षक भण्डारीले नेपालखबरसँग भने, ‘पुरिएकाहरूको नाम, ठेगाना खुलिसकेको छैन।’
उनका अनुसार पहिरोमा बेपत्ता तीन जनामध्ये डोजर चालक र सहचालक धादिङ बाहिरका र एक जना स्थानीय भएको बताइएको छ।
