
नेपाल पत्रकार महासंघले आज वितरण हुँदै गरेको नेपाल मिडिया अवार्डको आयोजकले दिने भनेको ३ लाख रकम नलिने बताएको छ।
महासंघले शनिबार एक विज्ञप्ति जारी गर्दै महासंघलाई जोडेर आएका विभिन्न प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोजक ड्रिम हाइ नेपाल संस्थाले दिने सहमति भएको ३ लाख रकम नलिने बताएको हो।

‘पत्रकारहरूलाई उनीहरूको भूमिकाको आधारमा सम्मान गर्ने सन्दर्भमा ड्रिम हाइ नेपाल संस्थाले राखेको प्रस्तावलाई महासंघले सहज रूपमा स्वीकार्दै सहकार्य गरेको भएतापनि यो कुनै आर्थिक लाभ वा अन्य कुनै स्वार्थका लागि थिएन।
यस क्रममा प्राप्त सहयोग पारदर्शी हुने र त्यसबाट बचेको रकममध्ये रु. ३ लाख महासंघद्वारा कोभिड प्रभावित पत्रकारको लागि स्थापित कोभिड राहत कोषमा जम्मा गर्ने सहमति भएको थियो।

अब प्राप्त प्रतिक्रियाहरूलाई ध्यानमा राखी सो सहमति कायम नरहने गरी उक्त रकम महासंघले नलिने र कार्यक्रम सम्पन्न गर्ने क्रममा भएका गतिविधिको बारेमा केन्द्रीय कार्य समिति बैठकमा छलफल गरी आवश्यक निर्णय लिइने व्यहोरा अवगत गराइन्छ,’ महासंघकी सचिव सृजना अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
