
आज (शुक्रबार) सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली छ भने प्रदेश नम्बर १ र २ का एक दुई स्थानमा हल्का वर्षा–हिमपात भएको छ।
बुलेटिनअनुसार आज दिउँसो (बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्म) सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।

यस्तै राति (साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म) प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ। यसैका कारण देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना देखिएको हो।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ :
‘देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना छ। यस मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ। साथै आगामी दिनमा मौसममा हुने परिवर्तनबारे जानकारी लिई मौसम पूर्वानुमान सम्बन्धी सूचनामा अध्यावधिक रहनहुन समेत अनुरोध छ।’
