• आइतबार, भाद्र २१ २०८३

गोरखा नगरपालिका १४ मा २ करोड लगानीमा स्वास्थ्य चौकी भवन बन्ने, मेयर पन्तले गरे शिलन्यास


शुक्रबार, पुष २३ २०७८
975
Shares

गोरखा । गोरखा नगरपालिका वडा नम्बर १४ मा करिब २ करोड लगानीमा स्वास्थ्य चौकी बन्ने भएको छ । गोरखा नगरपालिका कार्यालयको समन्वय तथा भारत सरकारको आर्थिक सहयोगमा वडा नम्बर १४ को देउरालीमा स्वास्थ्य चौकी भवन निर्माण हुन लागेको हो ।

१ करोड ९६ लाख ५६ हजार रुपैया लगानीमा बन्न लागेको देउराली स्वास्थ्य चौकी भवनको बिहिबार एक कार्यक्रमका वीच गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले शिलन्याश गरेका छन् । भूकम्प प्रभावित जिल्लाको पुर्ननिर्माण कार्यक्रम अन्तरगत तेस्रो चरणको प्याकेज मार्फत भारत सरकारको सहयोगमा सो स्वास्थ्य चौकी निर्माण हुन लागेको स्वास्थ्य चाैकीका इन्चार्ज दिपेन्द्र भण्डारीले जानकारी दिए ।

आगामी बर्ष २०७९ को पुष १५ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको स्वास्थ्य चौकी भवन भूकम्पप्रतिरोधीका साथै अपांगमैत्री र सुविधासम्पन्न हुने निर्माण कम्पनी खानी निर्माण सेवाका इन्जिनियर निशान अधिकारीले बताए ।

स्वास्थ्य चौकीमा प्रसुती गृह निर्माणसंगै ल्याब कक्ष, चेकजाँच कक्ष, सुविधासम्पन्न फर्निचर, कर्मचारीका लागि क्वाटर लगायत निर्माण हुने उनले बताए । भवन करिब डेढ रोपनी जग्गा क्षेत्रफलमा निर्माण हुन लागेको हो ।

वडाध्यक्ष रामबहादुर खड्काको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पन्तले नगरक्षेत्रका सबै स्वास्थ्य संस्थालाई ब्यवस्थित र सुबिधासम्पन्न बनाउने अभियानमा नगरपालिका लागेको बताएका छन् ।

‘हामी १४ वटै वडाबाट गुणस्तरिय स्वास्थ्य सेवा दिने अभियानमा छौ, कम्तिमा नगरवासी जटिल खालका रोग बाहेकका समस्यामा बाहिर जान नपरोस भन्ने उदेश्य हो’ उनले भने ‘त्यसका लागि सबै वडाका संस्थालाई स्रोत साधनयुक्त बनाउदैछौ ।’

साथै उनले भवन मात्रै सुविधासम्पन्न बनाउने नभई सेवा समेत गुणस्तरिय दिने तर्फ समेत कार्यालय सचेत रहेको बताएका छन् । स्वास्थ्य सेवाको कार्यसम्पादन मुल्यांकनमा गोरखा नगरपालिका यो बर्ष गण्डकी प्रदेशमै सर्वोत्कृष्ट भएको जानकारी दिदै मेयर पन्तले केहि बर्षभित्रै देशको नमुना बन्ने अभियान तर्फ अघि बढेको बताए ।

विकास र समृद्धिको सवालमा सबैले सबै किसिमका स्वार्थ त्याग्नुपर्ने बताउदै उनले देउराली स्वास्थ्य चौकी निर्माण सम्पन्न भएपछि गोरखा नगरपालिकाले एम्बुलेन्स समेत प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

शिलन्यास कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष हरि खनाल, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मी, नेपाली काँग्रेसका बल बहादुर पन्त, नेकपा एमालेका सोम पन्त, जनता समाजवादीका रामभक्त खनाल, खानी निर्माण सेवाका इन्जिनियर निशान अधिकारी, प्यूघरवेशी शहरी स्वास्थ्य इकाईका प्रमुख किशोरबाबु सेडाँई लगायतले बोलेका थिए । कार्यक्रममा स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा दान गर्ने प्रेम बहादुर परियारलाई सम्मान समेत गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार