
झापाको मेचीनगर नगरपालिका–७ पिपल चोकस्थित एक घरमा बुधबार राति आगलागी हुँदा निभाउन जाँदा सिलिन्डर पड्किएर एक महिलाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
मेचीनगर–७ का केशव पाठकको घरमा आगलागी भएको र आगो निभाउन जाँदा घरमा रहेको ग्यास सिलिन्डर पड्किएर मेचीनगर–८ की ४५ वर्षीया शारदा राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए।

गम्भीर घाइते भएकी शारदालाई धुलाबारी पुर्याउनासाथ मृत्यु भएको हो।
आगो निभाउने क्रममा सिलिन्डर पड्किँदा सोही स्थानका ४० वर्षीय लेखनाथ तिमल्सिना, बिर्तामोड–९ का २९ वर्षीय गोविन्दप्रसाद राजवंशी, मेचीनगर–७ का ३२ वर्षीय दीपेन्द्र कार्की, ३८ वर्षीय चन्दन गौतम, ४० वर्षीय सुबलाल राजवंशी, ३५ वर्षीय विनोद गिरी, ३५ वर्षीय नवराज श्रेष्ठ, २३ वर्षीय सन्देश बोहोरा, ४० वर्षीय भवानीशङ्कर न्यौपाने, ३६ वर्षीया निर्मल शर्मा, मेचीनगर–८ का ३४ वर्षीय हरि र ८ वर्षीया सुशीला अधिकारी घाइते भएको प्रहरीले जनाएको छ।
