• शनिबार, असोज ३ २०८३

फेरि हिमपात-वर्षा गराउने प्रणाली प्रवेश गर्दै, कम्तीमा ४ दिन सताउने


मंगलबार, पुष २० २०७८
635
Shares

फेरि हिमपात र वर्षा गराउने प्रणाली नेपाल प्रवेश गर्दै छ। मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) दिउँसो जारी गरेको विशेष बुलेटिनअनुसार आज राति पश्चिम नेपालबाट पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्न लागेको हो।

यसको प्रभावले बुधबारदेखि शनिबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली तथा प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्यसम्म मौसम बदली हुनेछ। 

शनिबारसम्ममा यो प्रणाली देशभर फैलिएर विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।

साथै बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगका पनि केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ। 

पहाडी तथा तराई भेगका केही र प्रदेश १ र २ का एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना छ। 

यसैले होसियारी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आम नागरिकलाई अनुरोध पनि गरेको छ। 

‘यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण,  कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ’, महाशाखाको बुलेटिनमा भनिएको छ। 

आइतबारबाट मात्र यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमशः सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मौसम पूर्वानुमान महाशाखाले माथि उल्लिखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप बुलेटिन जारी गर्ने पनि जानकारी दिइएको छ। 

‘यस महाशाखाबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिनेछ’, बुलेटिनमा भनिएको छ, ‘तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुनसमेत अनुरोध छ।’

यसअघि यस्तै प्रणाालीका कारण देशभर लगातार वर्षा र हिमपात हुँदा राजमार्ग अवरुद्धलगायत समस्या हुनाका साथै जनजीवन निकै कष्टकर भएकाे थियाे। त्याे क्रम बन्द भएकाे केही दिनपछि पुन: त्यस्तै प्रणाली भित्रिन लागेकाे हाे। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार