
गोरखा । एकिकरण मार्ग खोज्दै नेपाली सेनाले गोरखाबाट काठमाण्डौसम्म पदयात्रा गर्ने भएको छ । ३ सय औं पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखा दरबारदेखि काठमाण्डौको हनुमाढोका दरबारसम्म पदयात्रा गर्ने भएको हो ।
गोरखाकाे श्री रिपुमर्दन गणको संयोजनमा हुने पदयात्रा आगामी २१ गते बुधबारबाट सुरु गरिने गणका सेनानी प्रकाश परियारले सिभिलखबरलाई बताए । कार्यक्रम गाेरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकाकाे आयाेजनामा हुने बताइएकाे छ ।

पृथ्वीनारायण शाहकालिन पोशाक सहित टर्च र राष्ट्रिय झण्डा बोकेर नेपाली सेनाको टोली गोरखाबाट पैदल यात्रामा निस्कने तयारी गरेको उनको भनाई छ ।
तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोको पहिचान गर्दै एकिकरण पदमार्ग निर्माणका लागि नेपाली सेनाले केहि बर्षदेखि हरेक पृथ्वी जयन्तीका अवसरमा पदयात्रा गर्दै आएको छ ।

‘युनिफिकेसन ट्रेल’ का रुपमा सो मार्गलाई विकास गर्ने भन्दै सेनाले पदयात्रा सुरु गरेको हो ।
पदयात्रा पुष २१ गते बुधबार बिहान करिब साढे ७ बजे गोरखा दरबारबाट सुरु हुने बताइएको छ ।

यो बर्ष पदयात्रामा १० जना तत्कालिन पृथ्वी नारायण शाह कालिन सेनाको कालो पोसाकमा र ३० जना हालको नेपाली सेनाको पोसाकमा गरी ४० जनाको समुह रहने सेनानी परियारले सिभिलखबरलाई बताए ।


पदयात्रा सुरुवात कार्यक्रममा मध्येकमाण्ड हे.क्वा. का कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठको प्रमुख आतिथ्यता रहने सेनाले जनाएको छ ।
पदयात्रामा सहभागी सैनिकहरु हनुमान चौतारीबाट पिपलथोक, ताप्ले, अश्राङ, घाटबेंसी हुँदै बोर्लाङ्गघाट पुगेर धादिङको सल्यानटारमा एक कार्यक्रम गरी गोरखाबाट लगिएको टर्च र झण्डा धादिङको शिव दल गणका टोलीलाई हस्तान्तरण गर्नेछ ।

धादिङको शिव दल गणको टोलीले नुवाकोट र केहि दिनपछि नुवाकोटले काठमाण्डौलाई टर्च र झण्डा हस्तान्तरण गरेपछि उक्त टोली २६ गते साँझ काठमाण्डौंको हनुमान ढोका पुग्ने श्री रिपुमर्दन गणका सेनानी परियारले बताए ।
त्यससंगै सो टोली २७ गते हनुमानढोकामा आयोजित पृथ्वी जयन्यतीको औपचारिक कार्यक्रममा सहभागी हुने नेपाली सेनाले जनाएको छ । तस्विर : फाइल

