• शनिबार, असोज ३ २०८३

राजेश पायल राईमाथि दुर्व्यवहार गर्ने दावाले मागे माफी


सोमबार, पुष १९ २०७८
620
Shares

गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले खाँदा ओढाएर माफी मागेका छन्। अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा गीत गाइरहेका गायक राईमाथि स्टेजमै गएर शेर्पाले दुर्व्यवहार गरेका थिए।

गायक राईमाथि भएको दुर्व्यवहारको चौतर्फी विरोध भएको थियो।

राईले आफ्नो फेसबुकमा राखिएको एउटा भिडिओमा आयोजकसँगै दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेको र उनले माफी दिएको देखाइएको छ। 

सो क्रममा शेर्पाले आफूबाट गल्ती भएको स्वीकार्दै राईलाई खादा ओढाएर माफी मागेका छन्। ‘मैले उहाँमाथि दुर्व्यवहार गर्न पुगेछु, त्यसले गर्दा उहाँ (राजेश पायल राई)लाई धेरै डिस्टर्व भएको महसुस गरेँ। म राजेश दाइँसँग माफी माग्छु। उहाँको म ठूलो प्रशंसक हुँ,’ उनले भने।

यसैबीच गायक राईले मानिसबाटै गल्ती हुने भन्दै आफूले माफी दिएको बताएका छन्। 

‘अस्तिको घटनाबारे उहाँले माफी मागिसक्नु भएको छ, मेरो शुभचिन्तक, नेपाली गीत संगीतलाई मायाहरू र सम्पूर्णलाई हामीहरू मिलिसकेको कुरा जानकारी गराउन चाहन्छु, मैले उहाँलाई माफी दिएको छु’ राईले भने।

देश बाहिर रहेकाले आ-आफ्नो कर्म गर्नुपर्ने बताउँदै गायक राईले अब गल्ती नगर्न आग्रह गरेका छन्। 

‘मैले आम माफी दिइसकेको छु। उहाँले खुट्टै ढोग्छु पनि भन्नुभयो। तर पर्दैन मेरा फ्यानहरूलाई अब उप्रान्त गाली गलौज नगरिदिनुहोला। मेरो शीर ढलोस्, नेपाली गीतसंगीत र नेपाल कहिल्यै नढलोस्,’ राईले भनेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार