
५० लाख नगद बरामद प्रकरणमा सौर्य एयरलाइन्सको बिराटनगर शाखाका स्टेशन म्यानेजरलाई पनि प्रहरीले पक्राउ गरेको छ । एयरलाइन्सको विराटनगर विमानस्थलका स्टेशन म्यानेजर प्रकाश पौडेललाई पक्राउ गरेर राजस्व अनुसन्धान विभाग हरिहर भवनमा उपस्थित गराइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सुरेन्द्र मैनालीले बताए ।

शनिवार विराटनगरबाट काठमाडौंमा अवतरण भएको जहाजबाट विमानस्थल प्रहरीले स्रोत नखुलेको ५० लाख नगदसहित एयरलाइन्सका कर्मचारी रेशा शाक्य पोखरेललाई पक्राउ गरेको थियो । सो रकम चेकजाँच नगरीकन विमानमा राखिएको सुराकको आधारमा निगरानी गरेर रकम रिसिभ गर्न पुगेकी शाक्यलाई प्रहरीले पक्राउ गरेको थियो ।जहाजको इन्जिन स्टार्ट पछि पछि स्टेशन म्यानेजर पौडेलले उडान नम्बर सौ–७२४ मा सो पैसाको पोको लगेर दिएका थिए । भद्रपुर लेखिएको रातो रंगको झोलामा सो रकम फेला परेको थियो ।
