गोरखा । द ओसन क्लबले आयाेजना गरेकाे चाैथाे फुटबल मेला आजदेखि सुरु भएकाे छ । गोरखा नगरपालिका ९ दलभञ्याङ्ग स्थित क्लबकाे आफ्नै कृतिम घाँसे मैदानमा सुरु भएकाे मेला अन्तरगत आज ४ खेल सम्पन्न भएकाे हाे ।
दुई चरणमा गरिने मेला अन्तरगत पहिलाे चरणअन्तर्गत आजबाट गोरखा नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत १३ वर्ष मुनिका खेलाडी बीच खेलकाे ४ खेल सम्पन्न भएकाे क्लबका अध्यक्ष अमित खत्रीले बताए ।
४ समुहमा विभाजन गरिएकाे पहिलाे चरणकाे प्रतियाेगिगता अन्तरगत शनिबार रानीवनकाे द ओल्ड क्यापिटल मावि, लक्ष्मीबजारकाे महालक्ष्मी मावि, माेर्डन इंलिस बाेर्डिङ्ग स्कुल र लक्ष्मी सामुदायिक शिक्षा निकेतन लक्ष्मीबजारले जित हासिल गरेका छन् ।
जसमा ओल्ड क्यापिटलले छहरेकाे बालमन्दिरलाई ५-० गोल अन्तरले हराउदै विजेता बनेकाे हाे भने महालक्ष्मीले ताप्लेकाे जनज्याेती आधारभुत विधालयलाई ११-० गाेल अन्तरले पराजित गरेकाे हाे । त्यस्तै माेर्डन इंलिस बाेर्डिङ्गले कुन्दुरटारकाे महेन्द्र माविलाई ३-१ गाेल अन्तरले हराउदै विजयी बनेकाे क्लबका अध्यक्ष खत्रीले बताए ।
यसैगरी लक्ष्मी सामुदाियकले डुम्रीडाँडाँकाे रत्नलक्ष्मी माविलाई ३-२ गाेल अन्तरले पराजित गरेकाे बताइएकाे छ ।
आज पहिलाेदिन ७ खेल हुने निर्धारित कार्यक्रम रहेपनि ३ बिधालयमा शनिबार समेत परिक्षा चलिरहेकाले ३ खेल स्थगित गरिएकाे खत्रीले जानकारी दिए । जसमा आज स्थगित भएकाे बिरेनचाेककाे रत्नराज्य मावि र गोरखा मनकामना बाेर्डिङ्ग स्कुलवीचकाे खेल, शक्ती मावि पाटेचाैर र जेनियस बाेर्डिङ्ग नयाँबजारविचकाे खेल साथै सरस्वती मावि आहाले र रामशाह मावि देउराली वीचकाे खेल भने आगामी शुक्रबार हुने गर्ने तयारी र विधालयसंग सहमती भएकाे अध्यक्ष खत्रीकाे भनाई छ ।
फुटबल मेला अन्तरगत आगामी शनिबारबाट भने दाेस्राे राउण्ड अन्तरगतकाे खेल हुने बताइएकाे छ । प्रतियाेगितामा नगरक्षेत्रका १६ बिधालयकाे सहभागिता रहेकाे छ ।
हरेक शनिबारका दिन मात्रै खेलाईने प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाई ट्रफी र मेडलको व्यवस्था गरिएको खत्रीले जानकारी दिए । उक्त प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने २४ जना खेलाडीलाई क्लवले छनौट गरी एक वर्षसम्म प्रशिक्षण दिने खत्रीले जानकारी दिए ।
प्रतियोगिता अवधिभर खेलाडीहरुलाई आउने जाने गाडी भाडा र खाजाको व्यवस्था नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले गर्नेछ । गोरखा नगरपालिको सहयोगमा फुटबल मेला आयोजना गरिएकाे अध्यक्ष खत्रीले बताए ।
त्यस्तै, दोस्रो चरणको फुटबल प्रतियोगिता चैत्रबाट सुरु हुने उनले बताए । पहिलो चरणका विजेता र उपविजेता दुई टिम, पोखरा, तनहुँ, स्याङ्जा, पोखरा, चितवनबाट एक/एक टिम, काठमाडौको ४ टिम र आयोजकको तर्फबाट एक टिम सहभागी हुन्छन् ।
सबै गरेर कुल १२ टिम हुन्छ’ अध्यक्ष खत्रीले भने । प्रतियोगिता विजेता, उपविजेता टिमले नगद, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको क्लवले जनाएको छ ।