आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ ।
पोप ग्रेरगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ ।
यता नेपालमा भने अङ्ग्रेजी नयाँ वर्षकाे पहिलाे दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर केहि बर्षदेखि यो दिवस मनाउन थालिएको हो ।
यो दिन नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् । याे लहरसँगै पछिल्लाे समय नेपाली टाेपी लगाउनेकाे सङ्ख्या बढिरहेकाे छ ।