
काठमाडौं । अधिल्लो वर्षको तुलनामा सन् २०२१ मा प्रेस स्वतन्त्रता हननका घटना बढेको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघको अभिलेखअनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएकोमा सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ बिहान ११ः०० बजेसम्म ६२ वटा त्यस्ता घटना भएको पाइएको छ ।
महासंघका अनुसार ६२ वटा प्रेस स्वतन्त्रता हनन्का घटनामा १९० जना पत्रकार पीडित भएका छन् भने ४ सञ्चारमाध्यम प्रभावित हुन पुगेका छन् । सन् २०२१ मा पत्रकारमाथि ३२ वटा धम्की तथा दुर्व्यवहारका घटना भएको महासंघले जनाएको छ ।यस्तै, पेशागत असुरक्षाका १० वटा घटना, कब्जा र अवरोधका १० वटा घटना सन् २०२१ मा भएको महासंघका महासचिव रोशन पुरीले जनाएका छन् । यस वर्ष पत्रकार आक्रमणका ५ वटा, पत्रकार गिरफ्तारीका ४ वटा घटना तथा नीतिगत बन्देजको १ घटना भएको महासंघको अभिलेखमा उल्लेख छ ।
यो वर्ष संघ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाउने तथा संसद्मा दर्ता गर्ने काम भएको महासंघले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेका विचाराधीन यी कानूनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाईसमेत चुनौती थपिदिएको छ ।’
यस्तै कोरोना भाइरसको संक्रमण सुरु भएसँगै अहिलेसम्म २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएको महासंघले जनाएको छ । त्यसमध्ये सन् २०२१ मा २१ जना पत्रकार तथा सञ्चारकर्मीको ज्यान गएको जनाइएको छ ।
एक वर्षको अवधिमा कोरोना भाइरसको बहाना देखाएर विभिन्न सञ्चारगृहबाट ३५० जना पत्रकारलाई नियमित तलब नदिने, बेतलवी विदामा राख्ने र जागिरबाट निष्कासन गर्ने काम भएको महासंघले जनाएको छ । यसमध्ये झण्डै ३ सय जना पत्रकारको समस्या सम्बोधन भएको र ५० जना पत्रकारको समस्या समाधानका लागि महासंघले कानूनी तथा दबाबमूलक पहल गरिरहेको जनाइएको छ ।
२०२१ जनवरी १ देखि डिसेम्बर ३१ सम्म भएका प्रेस स्वतन्त्रता हनन्का घटनाहरूः–
