
फिल्म ‘कठपुतली’को प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा बुधबार आयोजित प्रिमियरमा फिल्मकर्मी तथा रंग पत्रकारको बाक्लो उपस्थिति थियो । प्रिमियरमा उपस्थित अधिकांशले फिल्म हेरेपछि कलाकारको प्रशंसा गर्दा केहीले निर्माण पनि राम्रो भएको प्रतिक्रिया दिए ।कार्यक्रममा निर्देशक तथा निर्माता आकाश अधिकारीले फिल्मको स्क्रिनप्ले राम्रो लागेको बताए ।
‘सम्पदा मल्लको लेखन मलाई मनपर्यो । समग्रमा भन्दा फिल्मले बाँधेर राख्छ’ आकाशले भने । निर्देशक प्रदीप भट्टराईले फिल्मले महिला सशक्तीकरणको कुरालाई उठाइएको राम्रो लागेको बताए ।

अभिनेत्री तथा निर्मात्री निशा अधिकारी, निर्देशक कलाकार दिनेश डिसी, नेता रविन्द्र मिश्र, नाट्यकर्मी अशेष मल्ल, टिकाराम यात्री, गायकद्वय सत्यस्वरुप, कलाकार सन्दिप क्षेत्री, निर्देशक सुदर्शन थापा, लेखक प्रदीप भारद्वाज, अभिनेत्री बेनिशा हमाल लगायतको उपस्थिति रहेको कार्यक्रममा धेरैले कलाकारको कामको प्रशंसा गरेका थिए ।भीमसेन लामाको निर्देशन रहेको फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, उषा रजत लगायतको मुख्य अभिनय छ ।

अष्ट्रेलियाका छायांकार जोएल फ्रूमको छायाङ्कन रहेको फिल्ममा सुवर्ण थापा, ध्रुव कोइरालाको पनि अभिनय छ ।पृथ्वी राना मगरको निर्माण रहेको फिल्ममा सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा हुन् । फिल्म शुक्रबारबाट देशभर रिलिज हुँदैछ ।