
बुधबार बिहानदेखि परेको अविरल झरी कारण देशभरको जनजीवन प्रभावित भएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा बाक्लो हिमपात भएको छ भने तराईका विभिन्न जिल्लाहरूमा पनि भारी वर्षा भएको छ । जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज पश्चिमी भागमा बढी वर्षा भएको छ । मौसमविद् सविना शाक्यले गोरखा, कास्की, लमजुङ, लगायतका क्षेत्रमा मध्यम स्तरको वर्षा भइरहेको र तराईका केही भूभागहरूमा सामान्य वर्षा भइरहेको जानकारी दिइन् ।
उनका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी गोरखा आसपास ४० मिलिमिटर पानी परेको छ । कास्की आसपासमा १४ मिलिमिटर वर्षा भएको छ । यस्तै लमजुङमा ३९ दशमलव ८ मिलिमिटर पानी परेको छ भने चितवनमा ४० मिलिमिटर वर्षा भएको छ । मनाङमा २७ दशमलव ५ मिलिमिटर र काठमाडौँमा १० दशमलव ७ मिलिमिटर पानी परेको छ । सुदूरपश्चिमका जिल्लाहरूमा १० मिलिमिटर हाराहारी वर्षा भएको शाक्यले बताइन् । पूर्वदेखि पश्चिमसम्म पहाडी र उच्च पहाडी क्षेत्रहरूमा वर्षा र हिमपात भइरहेको हो । अरब सागरबाट आएको पश्चिमी जलवाष्पयुक्त वायुको प्रभावका कारण वर्षा भइरहेको मौसमविद् शाक्यले बताइन् ।