• आइतबार, असोज ४ २०८३

प्रशासनले कार्यकर्ता रिहा गरे पनि सिके राउतले आन्दोलन फिर्ता लिएनन्


बुधबार, पुष १४ २०७८
1.2K
Shares

सिरहाको औरही गाउँपालिकाबाट गहुँको बिउ लुटपाट भएको विषयमा विवाद भएपछि सिके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन गरिरहेको छ । पुस ६ मा किसानहरूलाई निःशुल्क गहुँको बिउ वितरण गर्दा समयमै प्राप्त गर्न नसकेको भनेर केही व्यक्तिले बिउ भण्डारण गोदामको ताला तोडेर लुटेका थिए ।

त्यसबारे औरही गापा अध्यक्षले दिएको निवेदनका आधारमा स्थानीय मिथिलेश यादवलाई प्रहरीले आपराधिक उपद्रव मुद्दा चलाएको थियो ।सो विषयलाई लिएर जनमत पार्टीले पुस ११ मा विभिन्न ठाउँमा मशाल जुलुस र तत्पश्चात् ३ दिनसम्म आमहडताल, लोकमार्ग अवरोध जस्ता विरोधका कार्यक्रम गर्दै आएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालयले प्रदर्शनको क्रममा पक्राउ परेका सिके राउत नेतृत्वको जनमत पार्टीका १७ जनालाई रिहा गरेको छ । जिल्ला प्रशासनले निषेधाज्ञा पनि फिर्ता लिएको छ । त्यस्तै मिथिलेश यादवलाई अदालतले साधारण तारेखमा रिहा गरेको छ ।प्रशासनले निषेधाज्ञा फिर्ता लिएर कार्यकर्ता रिहा गरे पनि सो पार्टीले आफ्ना आन्दोलनको कार्यक्रम जारी राखेको छ । जनमत पार्टीले औपचारिक रूपमा आन्दोलनको कार्यक्रम फिर्ता लिएको घोषणा नगरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डिएसपी) सुवास बुढाथोकीले बताए ।

प्रदर्शनको क्रममा राउतका कार्यकर्ताले सडकमा गुडिरहेका १९ सवारी साधनहरू माथि तोडफोड र एउटा ट्रकमा आगजनी गरेका थिए । सिरहाका प्रमुख जिल्ला अधिकारी लालबावु कबारीले राजनीतिक दलका प्रमुखहरूसँग छलफलपछि राउतका कार्यकर्तालाई थुनामुक्त गरेर निषेधाज्ञा फिर्ता लिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार