• आइतबार, असोज ४ २०८३

महिलालाई उद्यमशिल बनाउन तेर्सापट्टी बुहारी समूहकाे निशुल्क तालिम


मंगलबार, पुष १३ २०७८
810
Shares

पाेखरा । पोखरामा तेर्सापट्टी बुहारी समूहले नेवारी परिकार बनाउन सिकाउने भएको छ । पाेखरा महानगरपालिका वडा नम्बर ३ मा रहेको तेर्सापट्टी बुहारी समूहले संस्कृति बचाउन भन्दै नेवारी परिकार बनाउन सिकाउने भएको हाे ।

नेवारी परिकारहरु लाेप हुने अवस्थामा पुगेकाे भन्दै बुहारी समूहले समूह भित्रका महिलाहरुलाई नेवारी परिकार पकाउन सिकाउन लागेको हो । त्यससंगै महिलाहरुलाई उद्यमी बनाउँदै आर्थिक सशक्तिकरण गर्ने उद्धेश्यले तालिम दिन लागिएको समूहले जनाएको छ ।

तालिममा ३० भन्दा बढी महिला सहभागी हुने समुहकाे विश्वास छ । आफ्नो समूहमा आबद्ध महिलालाई नेवारी परिकारहरु पकाउन निःशुल्क रुपमा तालिम दिन लागेको समूहकी अध्यक्ष नीलम उदासले जानकारी दिईन् ।

तेर्सापट्टी बुहारी समूहको आयोजनामा हुने तालिममा जोःजलपा नेवारी किचनका सेफले तालिम दिने उनले बताईन् । उनका अनुसार तालिममा योमरी, छोयला, समयबजी, चटामरी, बारा, तखला (बफ ग्रेभी), सन्यखुन्य (सिद्राको परिकार)लगायत पकाउन सिकाईनेछ । तालिममा भिन्तुना युवा क्लव तेर्सापट्टीले व्यवस्थापन सहयोगीका रुपमा सघाएको छ ।

प्रारम्भिक तालिम शुरु भइसकेको छ । तालिमसँगै पुस १५ गते भने बृहद तालिमसहित ‘नेवारी परिकार उत्सव’ समेत आयोजना गर्ने बुहारी समूहको तयारी छ ।

उनका अनुसार फुड फेष्टिभलमा पकाएका कुरा लाइभ हेर्न पाइनेछ । पुस १५ गते प्रशिक्षार्थीहरुलाई विहानैदेखि पकाउन सिकाइनेछ भने पूर्वाह्न ११ बजेदेखि अपराह्न ४ बजेसम्म ‘नेवारी परिकार उत्सव’ कार्यक्रम रहनेछ । उत्सवमा सहभागिहरुलाई भारी छुटमा परिकारहरु चखाइने समूहले जनाएको छ ।

लोपोन्मुख संस्कृति जोगाउँदै महिलाहरुलाई उद्यमी बनाउन प्रेरित गर्ने र आर्थिक सशक्तिकरण गर्ने उद्धेश्यले तालिम तथा ‘नेवारी परिकार उत्सव’ गर्न लागिएको नेवा मिसा पुचःकास्कीकी निवर्तमान अध्यक्ष शान्ती उदासले बताईन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार