गोरखा । द ओसन क्लवद्वारा आगामी पुस १७ गतेदेखि चौथो फुटबल मेला आयोजना गर्ने भएकाे छ । क्लबले गोरखा नगरपालिका ९ दलभञ्ज्याङमा रहेकाे आफ्नै कृतिम घाँसे मैदानमा चौथो फुटबल मेला आयोजना गर्ने भएकाे हाे ।
दुई चरणमा गरिने मेला अन्तरगत पहिलाे चरणअन्तर्गत गोरखा नगरपालिका भित्रका सामुदायिक र निजी विद्यालयमा अध्ययनरत १३ वर्ष मुनिका खेलाडी बीच फुटबल प्रतियोगिता हुने क्लवका अध्यक्ष अमित खत्रीले बताए ।
उनका अनुसार चौथो फुटबल मेला दुई चरणमा हुनेछ । पहिलो चरणमा नगरपालिका भित्रका विद्यालयहरु बीच हुनेछ भने दोस्रो चरणमा गोरखा नगरपालिका बाहिरका र जिल्ला बाहिरका १३ बर्षमुनिका खेलाडीहरु पनि सहभागिता हुनेछन् ।
पुस १७ गतेबाट सुरु हुने फुटबल प्रतियोगितामा २० भन्दा बढी विद्यालयबाट सहभागी हुने अनुमान गरेका क्लबकाे छ । हरेक हप्ताको शनिबार मात्र खेल हुने भएकाले उक्त फुटबल प्रतियोगिता माघ अन्तिम सम्म लम्बिने उनले बताए ।
प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाई ट्रफी र मेडलको व्यवस्था गरिएको खत्रीले जानकारी दिए । उक्त प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने २४ जना खेलाडीलाई क्लवले छनौट गरी एक वर्षसम्म प्रशिक्षण दिने खत्रीले जानकारी दिए ।
प्रतियोगिता अवधिभर खेलाडीहरुलाई आउने जाने गाडी भाडा र खाजाको व्यवस्था नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले गर्नेछ । गोरखा नगरपालिको सहयोगमा फुटबल मेला आयोजना गर्न लागेको अध्यक्ष खत्रीले बताए ।
त्यस्तै, दोस्रो चरणको फुटबल प्रतियोगिता चैत्रबाट सुरु हुने उनले बताए । पहिलो चरणका विजेता र उपविजेता दुई टिम, पोखरा, तनहुँ, स्याङ्जा, पोखरा, चितवनबाट एक/एक टिम, काठमाडौको ४ टिम र आयोजकको तर्फबाट एक टिम सहभागी हुन्छन् । सबै गरेर कुल १२ टिम हुन्छ’ अध्यक्ष खत्रीले भने । प्रतियोगिता विजेता, उपविजेता टिमले नगद, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको क्लवले जनाएको छ ।