• आइतबार, असोज ४ २०८३

सरकारले लागू गर्‍यो लेटर ग्रेडिङ प्रणाली, पास हुन विद्यार्थीले ३५ नम्बर ल्याउनै पर्ने


सोमबार, पुष १२ २०७८
715
Shares

सरकारले विद्यालय तहका विद्यार्थीको मूल्यांकनमा थप कडाइ गरेको छ।

कक्षा १ देखि १२ सम्म एकै मापदण्ड लागू गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माथिल्लो कक्षामा पढ्न कम्तीमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने व्यवस्था लागू गरेको छ।

पुस ७ मा शिक्षा मन्त्री देवेन्द्र पौडेल ‘सुनिल’ले मन्त्रीस्तरीय निर्णय गर्दै ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ ल्याएका हुन्। यो निर्देशिका लागूसमेत गरिसकिएको छ।

विद्यालय तहको मूल्यांकन र प्रमाणिकरणमा सान्दर्भिकता, पारदर्शिता र वस्तुनिष्ठता तथा विश्वसनियता कायम गर्न आवश्यक भएकाले यो निर्देशिका ल्याइएको मन्त्रालयले जनाएको छ।

‘२०७२ देखि नै यस्तो निर्देशिका कार्यान्वयनमा थियो। यसलाई अहिले थप परिस्कृत गरिएको हो,’ मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने।

यो निर्देशिका लागू भएसँगै विद्यार्थी पास हुन अब विषयपिच्छे कम्तीमा ३५ अंक ल्याउनै पर्छ। यसअघि पास हुन विद्यार्थीले ३२ अंकमात्रै ल्याए पनि पुग्थ्यो।

३५ भन्दा कम अंक ल्याएका विद्यार्थीलाई सर्टिफिकेट नै नदिने निर्देशिकाको व्यवस्था छ।

३५ अंक नल्याउने विद्यार्थीलाई ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था भने मिलाइएको छ। विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन सक्छन्।

नयाँ पाठ्यक्रम लागू भएका कक्षा यसै वर्षदेखि यो मूल्यांकन प्रणाली लागू हुनेछ। मन्त्रालयले बनाएको निर्देशिकामा ८ वटा ग्रेड निर्धारण गरिएको छ।

९० वा सोभन्दा माथि ल्याउनेलाई ‘ए प्लस’ दिइनेछ भने ८० वा सोभन्दा माथि ९० भन्दा कम ल्याउनेलाई ‘ए’ ग्रेड निर्धारण गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार