
महिला पुनर्स्थापना केन्द्र (ओरेक) का अनुसार पछिल्लो पाँच महिनामा ८४४ जना महिला तथा बालिकामाथि हिंसाका घटना अभिलेखीकरण भएको छ ।गत साउनदेखि मंसिरसम्म भएका ती घटनामा ५६ प्रतिशत अर्थात् ४७५ वटा घटनामा घर भित्रकै सदस्यको संलग्नता पाइएको छ ।
समीक्षा अवधिमा १५२ वटा (१८ प्रतिशत) बलात्कार, ७५ वटा (९ प्रतिशत) सामाजिक हिंसा, ५३ वटा (६ प्रतिशत) हत्या, ३७ वटा (४ प्रतिशत) यौन दुर्व्यवहारका घटना अभिलेखीकरण भएको ओरेकले जनाएको छ ।सो अवधिमा स्रोत साधनबाट बञ्चितीकरण ४५ प्रतिशत, शारीरिक हिंसा २९ प्रतिशत र मानसिक हिंसा २६ प्रतिशत पाइएको छ । ओरेकका अनुसार घरेलु हिंसामा ७५ प्रतिशत आरोपित श्रीमान् पाइएको छ भने २५ प्रतिशत आरोपित परिवारका सदस्य छन् ।यस्तै, घरेलु हिंसा पीडितलाई उमेर समूहका आधारमा वर्गीकरण गर्दा २६ देखि ३५ वर्ष उमेर समूहका पीडित सर्वाधिक देखिन्छन् ।
ओरेकका अनुसार समीक्षा अवधिमा अभिलेखीकरण भएका घटनामध्ये यो उमेर समूहका पीडितको संख्या ४४ प्रतिशत छ । त्यस्तै,१७ देखि २५ वर्ष उमेर समूहका ३१ प्रतिशत, ३६ देखि ४५ वर्ष उमेर समूहका १५ प्रतिशत, ४६ वर्षदेखि माथिका ८ प्रतिशत र १६ वर्षभन्दा कम उमेरका ३ प्रतिशत पीडित छन् ।
आरोपितहरुमा पनि २६ देखि ३५ वर्ष उमेर समूहकै सर्वाधिक छन् । यो उमेर समूहका आरोपित ४२ प्रतिशत रहेको ओरेकले जनाएको छ । त्यस्तै, ३६ देखि ४५ वर्ष उमेर समूहका २५ प्रतिशत, ४६ वर्षभन्दा माथिका १७ प्रतिशत र १६ वर्षभन्दा कम उमेर समूहका एक प्रतिशत आरोपित छन् ।