
संयुक्त राज्य अमेरिकाले थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएको छ।नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले अमेरिकाले अनुदानमा दिन लागेको कोरोनाविरुद्धको खोप नेपालका स्कुल पढ्ने बालबालिकाका लागि लगाउन लागिएकोमा आफू खुसीले गदगद भएको ट्विटरमा उल्लेख गरेका छन्।
यी खोप यसै वर्षको अघिल्तिर अमेरिकाले नेपाललाई अनुदानमा दिएका फाइजर खोपका १ लाख ६ सय २० मात्रा र एकल मात्राको जोन्सन एन्ड जोन्सन खोपका १५ लाख ३५ हजार खोपमा थपिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
यस सहायताले जीवनरक्षक चिकित्सा सामग्री, तालिम र प्राविधिक सहयोगको रूपमा हालसम्म नेपाललाई उपलब्ध गराइएको १२ करोड २० लाख डलरभन्दा बढीको सहायता (खोपको लागत समावेश नगरी)मा वृद्धि गरेको छ। महामारीको समयमा नेपाललाई अमेरिकाको जारी सहयोगको एक हिस्साको रूपमा अमेरिकाले निःशुल्क र विना पूर्वशर्त खोपहरू प्रदान गरिरहेको छ।
यसका साथै, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) र युनिसेफले यी खोपहरू तत्काल आवश्यक भएका क्षेत्रहरूमा सुरक्षित र न्यायोचित ढङ्गले वितरण गर्न र मानिसहरूलाई खोप लगाउन प्रोत्साहित गर्नमा नेपालसँग साझेदारी गर्दै छन्।
अति कम तापक्रमयुक्त फ्रिजर, वाक-इन फ्रिजर, वाक-इन कोल्ड रुम, फ्रिजर भ्यान, क्रायोजेनिक पन्जा, र चस्माहरू तथा देशभर खोपको ढुवानी गर्दा तिनलाई प्रयोगयोग्य राख्नका निम्ति कोल्ड चेन कायम राख्न प्राविधिक सहयोग उपलब्ध गराउन युएसएआईडीले नेपालसँग निकट रही काम गरेको छ । यसले थप खोपहरू प्राप्त गर्नमा नेपालका विकल्पहरू र क्षमताको वृद्धि गर्नेछ।
‘कोभिड महामारीको समयमा नेपाललाई हाम्रो सहयोग जारी राख्दै जीवनरक्षक फाइजर खोपका यी थप ६,६४,५६० मात्रा नेपाललाई प्रदान गर्न पाउँदा अमेरिकालाई खुसी लागेको छ। हामी खुसी छौँ कि १२ देखि १७ वर्षका बालबालिकाका निम्ति मान्यताप्राप्त यी खोपहरू मूलतः बालबालिकाहरूलाई सुरक्षित र स्वस्थ राख्न प्रयोग गरिने छन्’, यूएसएआईडीकी नियोग प्रमुख सेपिडे केभान्शाडले भने।
महामारीको सुरुवातदेखि नै अमेरिकी सरकारले कोभिड-१९ महामारीसँग लड्न, महत्त्वपूर्ण स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न र महामारीका द्वितीयक सामाजिक र आर्थिक प्रभावहरू – विशेषतः शिक्षा र जीविकोपार्जनमा – न्यूनीकरण गर्नमा नेपाललाई सहयोग गर्न नेपाल सरकारसँग प्रत्यक्ष रूपमा काम गरेको छ ।
अमेरिकाले विश्वव्यापी रूपमा झन्डै १०० विकासोन्मुख देशहरूलाई १-१ अर्बभन्दा बढी खोपहरू प्रदान गर्ने वाचा गरेको छ र ३३ करोडभन्दा बढी खोपका मात्राहरू वितरण गरिसकेको अमेरिकी दूतावासले जनाएको छ। चार अर्ब डलरको योगदान गरेको अमेरिका विश्वव्यापी खोप पहल कोभ्याक्सको सबैभन्दा ठुलो द्विपक्षीय दाता हो।
अमेरिकी राष्ट्रपति जो बाइडनले कम र निम्न मध्यम आय भएका देशहरू र अफ्रिकी सङ्घलाई एक अर्ब फाइजर खोप प्रदान गर्न, विश्वभरका मानिसलाई खोप लगाउन मद्दत गर्न र यस महामारी विरुद्धको लडाइँलाई उच्च शक्ति प्रदान गर्न अमेरिकी सरकारलाई प्रतिबद्धता व्यक्त गरेका छन्। न्यायसङ्गत वितरणका निम्ति कोभ्याक्समार्फत काम गर्दै यस वर्षको अन्त्यसम्ममा २० करोड मात्रा र बाँकी ८० करोड मात्रा २०२२ मा वितरण गरिने दूतावासको भनाइ छ।