• आइतबार, भाद्र २१ २०८३

नेपाललाई चाँडै कोरोनामुक्त गर्छौंः स्वास्थ्यमन्त्री


बिहिबार, पुष ८ २०७८
680
Shares

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विश्वव्यापी चुनौतीका रुपमा देखा परेको कोरोना भाइरसबाट नेपाललाई चाँडै मुक्त गर्ने बताएका छन्।

स्वास्थ्य मन्त्रालयमा बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्री खतिवडाले छिटोभन्दा छिटो नेपाललाई कोरोनामुक्त पार्ने ध्येयका साथ स्वास्थ्य सेवालाई प्रभावकारी, जनमुखी, सर्वसुलभ र जनउत्तरदायी बनाउन सरकारले ध्यान केन्द्रीत गरेको बताए।

‘कुनै विशेष तह वा क्षेत्रको प्रतिकार्यले मात्रै कोभिड–१९ को रोकथाम र नियन्त्रण सम्भव छैन। यसका विरुद्ध सबै क्षेत्र, वर्ग र तह तप्का लाग्नु आवश्यक छ,’ उनले भने, ‘सबैको प्रयासले एकले अर्कालाई सुरक्षित राख्ने र सम्भावित जोखिमबाट बच्न र बचाउने भूमिका निर्वाह गर्नुपर्छ, सुझबुझपूर्ण साथ र व्यवहारले मात्र यो लडाईं जित्न सम्भव छ।’

जनस्वास्थ्यका मापदण्डको पालना र कोभिड–१९ विरुद्धको खोप अभियानमा सक्रिय सहभागिताले नै कोरोना नियन्त्रणमा सहयोग मिल्ने उनको भनाई थियो। मन्त्री खतिवडाले सर्वसाधारणलाई सहज हुने गरी खोप केन्द्रमार्फत सरकारले निःशुल्क खोप उपलब्ध गराउँदै आएको बताए। सरकारले १८ वर्ष माथि उमेर समूहका लागि कोभिशिल्ड र भेरोसेल खोप र १८ वर्ष मुनिका उमेर समूह (१२–१७) का लागि फाइजर र मोडर्ना खोप लगाउँदै आएको छ।

मन्त्री खतिवडाले सरकारको प्राथमिकतामा रहेको कोरोना विरुद्धको खोप अभियानलाई सफल पार्न आम नागरिकलाई अपिलसमेत गरे। मन्त्री खतिवडाले १२ देखि १७ वर्षका बालबालिकालाई आफू अध्यन गर्ने वा आफूलाई नजिक पर्ने विद्यालयमा रहेको खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरे। ‘ओमिक्रोन’ भेरियन्टलाई फैलन नदिन सरकारले विभिन्न सुरक्षात्मक उपाय कार्यान्वयनमा ल्याएको उनको भनाई थियो।

सरकारले दक्षिण अफ्रिकालगायत विभिन्न नौ देशबाट मङ्सिर १६ गतेदेखि नेपाल प्रवेश अनुमति नदिने निर्णय गरेको छ । यस्तै अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकामा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरुका थप नमूना सङ्कलन गरी जीन सीक्योन्सिङ गर्ने गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

हालसम्म दुई करोड १९ लाख ८८ हजार ५१६ मात्रा खोप लगाइएको मन्त्री खतिवडाले जानकारी दिए। एक मात्रा खोप प्राप्त गर्नेको सङ्ख्या एक करोड २२ लाख ५१ हजार १८३ र पूर्ण खोप प्राप्त गर्नेको सङ्ख्या ९७ लाख ३७ हजार ३३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार