
नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थामा विद्युत्को खपत बढाउने चुनौती रहेको बताएका छन्।
भक्तपुर ख्रिसमस समाजले ख्रिसमस र आंग्रजी नयाँ वर्ष २०२२ का अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्मान ग्रहण गर्दै उनले पहिलो कार्यकालमा लोडसेडिङ हटाउने चुनौती रहेकामा अहिले विद्युत्को खपत बढाउनुपर्ने बताए ।
उनले विद्युतको खपत बढाउन आग्रहसमेत गरे । कुनै बेला बिजुली कहिले आउँछ भन्ने अवस्था थियो, अहिले विद्युत् कसरी खपत गर्ने भन्ने चुनौती छ, उनले भने, आम नागरिकलाई विद्युत्को खपत बढाउन आग्रह गर्दछु ।
आफू एक्लैको प्रयासले नभई समूहका सबैको सहकार्य र परिश्रमले नेपालमा लोडसेडिङको अन्त्य गर्न सम्भव भएको स्पष्ट पार्दै घिसिङले त्यसको जस सबैलाई जाने बताए । म एक्लैको प्रयासले लोडसेडिङ अन्त्य भएको होइन, मैले मेरो कर्तव्य र जिम्मेवारी इमान्दारिपूवर्क निर्वाह गरेको हुँ, यसमा सबैको साथ र सहयोगका साथै उत्तिकै मेहनत र परिश्रम पनि रहेको छ, उनले भने ।