
युवाहरुलाई जागिर लगाईदिने आश्वासन दिँदै ठगी गर्ने गोरखाको शहीद लखन गाउँपालिकाका एकजना पक्राउ परेका छन् ।
युवाहरुलाई जागिर लगाइ दिने प्रलोभन दिएर पटक पटक रकम ठगी गरेको आरोपमा शहीद लखन-२ का ३८ वर्षीय गणेशराज अर्याल पक्राउ परेका हुन् ।
उनले उदयपुरको त्रियुगा नगरपालिका ८ का उमेशकुमार दनुवार र प्रेमकुमार दनुवारलाई जागिर लगाइदिने आश्वासन दिँदै पटकपटक रकम लिएको उजुरी परेको छ। पीडितको उजुरीका आधारमा १ नं. प्रदेश प्रहरी कार्यालयले विराटनगर महानगरपालिका १० बसपार्कबाट अर्याललाई मंगलबार विहान पक्राउ गरेको हो ।
प्रदेश प्रहरी प्रवक्ता एसपी नवीनराज राईका अनुसार अर्यालले दनुवारद्वयबाट १ लाख ७३ हजार रकम ठगी गरेको उजुरी परेको छ । उनले अन्य युवालाई पनि यसरी ठगेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी मोरङको नियन्त्रणमा राखिएका उनीमाथि जिल्ला अदालतको आदेश अनुसार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । अर्यालमाथि ठगी मुद्धामा कारबाही गर्ने गरी प्रक्रिया अघि बढाइएको एपसी राईले बताएका छन् ।