
गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पठाउनुपर्ने सहुलियत दरकाे चामल आधा बर्षदेखि गोरखा सदरमुकामकै गोदाम घरमा थन्किएको छ ।
प्राकृतिक विपत्तिका कारण भोकमरी लाग्न सक्ने जोखिम बढ्दै गएको गोरखाको चुमनुब्री गाउँपालिकाका जनताका लागि आएको हजारौ क्विन्टल चामल अहिले ६ महिनादेखि सदरमुकाममा थन्किएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाले समयमै ठेक्का लगाउन नसक्दा सहुलियत दरको चामल उत्तरी गोरखासम्म ढुवानी हुन सकेको छैन ।
अघिल्लो बर्ष समेत लक्ष्य र माग अनुसार चामल पु¥याउन नसकेको खाद्य कम्पनीले यो बर्ष त झनै एक किलो चामल पनि ढुवानी गराउन सकेको छैन । यसले एकातिर उत्तरी क्षेत्रका लागि खरिद भएर आएको चामल सदरमुकाममै सड्ने जोखिम बढेको छ भने अर्को तर्फ त्यसक्षेत्रमा भोकमरीको अवस्था समेत आउन सक्ने जोखिम बढेको गएको छ ।

अघिल्ला बर्षहरुमा खच्चड मार्फत ढुवानी गराएर चामल फिलिम डिपो पु¥याइएपनि हाल त्यसक्षेत्रका अधिकांश डिपो रित्तिसकेका छन् । विकट क्षेत्रका जनताको जिवन रक्षाका लागि भन्दै सरकारले सहुलियत दरमा चामल बिक्रि गर्न यो कार्यक्रम ल्याएपनि आधा बर्षसम्म सदरमुकामकै गोदाम घरमा चामल थन्किदा स्थानीयको भने विचल्ली हुने देखिएको छ ।
‘अहिलेसम्मपनि उत्तरी गोरखामा सडक पुगेकाे छैन, कि खच्चड हाे कि हेलि हाे, अरु बिकल्प नै छैन, यी दुवै विकल्प हुने खानेका लागि हाे, सबैकाे पहुँचमा छैन’ सिर्दिबासका स्थानीय विष्णु बहादुर गुरुङ्गले सिभिलखबरलाई भने ‘एकातिर बाढीपहिराेकाे विपत्ती नै विपत्ती छ, यस्ताे बेला समेत सरकार कानमा तेल हालेर बसेकाे छ, याे त चरम लापरवाही हाे ।’

सहुलियत दरकाे चामल यथासिघ्र ढुवानी गरिदिने वातावरण मिलाउन समेत उनले माग गरेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाका अनुसार ढुवानीका लागि अझै ठेक्का स्वीकृत भएको छैन । दुई पटकसम्म ठेक्का खुलाउदा समेत प्रकृया नपुगेको भन्दै ठेक्का स्विकृत नभएपछि हजारौ क्विन्टल चामल सदरमुकाममा सड्ने अवस्थामा पुगेको छ ।


कार्यालयले पहिलो पटक गत असार २२ गते ठेक्का आह्वान गरेको थियो । ठेक्का स्वीकृत गर्दा गत वर्षको ढुवानी दररेटमा १० प्रतिशत बढाउन नमिल्ने प्रावधान रहेको छ । आवेदकले गत वर्षको भन्दा ३० प्रतिशत बढाएर दररेट हाल्दा पहिलो ठेक्का स्वीकृत हुन नसकेको खाद्य कम्पनीको भनाई छ ।

गत वर्ष सिर्दिवास डिपोका लागि प्रतिकेजी १६ रुपैयाँ ९५ पैसामा चामल ढुवानी गर्ने गरी प्रगति निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो ।
कार्यालयले पुनः असोज २५ गते दोस्रोपटक ठेक्का आह्वान ग¥यो । दररेटकै अल्झनले दोस्रो ठेक्का पनि स्वीकृत हुन सकेन । यही मंसिर २४ गतेसम्मको अन्तिम म्याद राखेर कार्यालयले तेस्रो पटक पुनः ठेक्का आह्वान गरेको छ ।


‘हामीले ठेक्का नलगाएकाे हाेइन, अहिलेसम्म ३ पल्ट ठेक्का आह्वान भइसक्याे तर दर रेटका कारण स्विकृत नै हुन सकेकाे छैन’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाका प्रमुख नविन बस्नेतले भने ‘हेराै याे पल्ट २ वटा फर्मले ठेक्का हाल्नु भएकाे छ, स्विकृत हुन्छ कि भन्ने आशा छ ।’
यता ६ महिनादेखि चामल खाद्य कम्पनीको गोदामघरमा चामल थन्किदा जोगाउनै मुस्किल भएको कार्यालय समेत स्विकार्छ ।

‘६ महिना भयाे चामल एकै ठाउँमा राखेकाे, भवनपनि भुकम्पले चर्काएर भग्वावशेष जस्ताे छ’ स्टाेरकिपर शिव सुनारले भने ‘ मुसाबाट जाेगाउनै गाराे भइरहेकाे छ, तलबाट पनि चिसाे आउने, अहिलेसम्म त जसाे तसाे राखेका छाै, अब चाहि बिग्रिन सक्छ ।’
भूकम्पले ध्वस्त भएको जिर्ण गोदामघरमा हजारौ क्विन्टल सहुलियत दरको चामल स्टोर गर्दा उत्तरी क्षेत्रका जनता भने महंगो भाडा तिरेर खच्चड र हेलिकप्टरमा चामल ढुवानी गरेर खान बाध्य भइरहेका छन् ।


समयमै चामल ढुवानी नहुँदा उत्तरी क्षेत्रमा खाद्यान्न अभाव भएको छ । डिपोहरू रित्तिन थालेपछि स्थानीयले सुहलियत दरको चामल किन्न पाएका छैनन् । यो वर्ष माछाखोला डिपोका लागि ५०० क्विन्टल र सिर्दिवास डिपोका लागि ३५ सय क्विन्टल कोटा स्वीकृत भएको छ ।
सिर्दिवास डिपोका लागि दुई हजार क्विन्टल गोरखाबाट र बाँकी १५ सय क्विन्टल विमलनगर तनहुँबाट ढुवानी हुनेछ । तर अहिलेसम्म पनि ठेक्का प्रकृया नटुंगिदा उत्तरी गोरखाका जनताले भने सरकार विहिन भएको महसुस गर्न थालेका छन् ।