• आइतबार, असोज ४ २०८३

छात्रालाई बलात्कार गरेको आरोपमा प्रिन्सिपल पक्राउ


बुधबार, मंसिर २९ २०७८
605
Shares

नेपालगञ्जको एउटा टेक्निकल कलेजका प्रिन्सिपल १७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।

नेपालगञ्ज टेक्निकल कलेजका प्रिन्सिपल ४१ वर्षीय हिक्मत रावलका विरूद्ध १७ वर्षीया छात्राले बलात्कार गरेको भनेर उजुरी दिएपछि पक्राउ गर्नु परेको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले सेतोपाटीलाई बताए। ‘पीडित छात्राको तर्फबाट आफूलाई प्रिन्सिपलले डर धम्की देखाएर पटक-पटक बलात्कार गरेको भनेर दिएको जाहेरीका आधारमा प्रहरीले तीन दिन अगाडि रावललाई पक्राउ गरेको हो,’ एसपी अधिकारीले भने,‘‘घटना अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ।’

एसपी अधिकारीका अनुसार पक्राउ परेका रावल स्प्रिङ डेलका अध्यक्ष समेत हुन्।

उनले टेक्निकल कलेजमा अंग्रेजी विषय पढाउँदै आएका थिए। घटना अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक खिमबहादुर घर्तीले शिक्षक रावलले पीडित किशोरीले डर धम्की र त्रास देखाएर आफूमाथि पटक-पटक बलात्कार गरेको भनेर जाहेरीमा उल्लेख गरेको जानकारी दिए।

गत साउन २२ गते पहिलो पटक प्रलोभनमा पारेर शिक्षक रावलले बलात्कार गरेको र त्यसपछि उक्त भिडिओ आफूले सुरक्षित राखेको भन्दै त्यो सार्वजनिक गरिदिने डर, त्रास र धम्की दिँदै पटकरपटक बलात्कार गरेको जाहेरीमा उल्लेख रहेकोे घर्तीले बताए।

भिडिओ सार्वजनिक गरिदिने डर धम्की र त्रास दिएर पीडित छात्रालाई ती शिक्षकले भारतको लखनऊसम्म लगेर यौन शोषण गरेको जाहेरीमा उल्लेख छ।

छात्राका बुवाले आफ्नी छोरीको खोजी गरिदिन आग्रहका साथ प्रहरीमा जाहेरी दिएपछि घटनाबारे प्रहरीले जानकारी पाएको प्रहरी निरीक्षक घर्तीले बताए।

‘बुवाको जाहेरीपछि प्रहरीले घटना अनुसन्धान थालेको थियो,’ घर्तीले भने, पीडित छात्राको जाहेरीपछि तत्काल हामीले शिक्षक रावललाई पक्राउ गरेका हौं।’

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार